Logo
Logo

देश उज्यालो बनाउने दार्चुला आफै अँध्यारो !


- दृष्टि संवाददाता

504
Shares

 

दार्चुला, २० माघ । दार्चुलामा ५० मेगावाटभन्दा बढी विद्युत उत्पादन हुन्छ । दार्चुलामा उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै उज्यालो अभियानमा योगदान पुगेको छ ।

तर, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना भने अझै पूर्ण हुन सकेको छैन । आयोजनास्थलको वरपर न त विद्युत बल्यो, न त पोल नै ठडियो ।

देशभर विद्युत माग पुर्याउन सहयोग गरेको दार्चुलाकै अधिकांश गाउँ अन्धकार छ । विद्युत नहुँदा समस्या भएपछि स्थानीय आन्दोलनमै उत्रिन थालेका छन् ।

२०७४ माघ २७ गते दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखरबलाँचमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धाटन गरे ।

त्यो बेला स्थानीयले विद्युत नपाएको भन्दै आक्रोश पोखेपछि प्रधानमन्त्री देउवाले तत्कालै विद्युतीकरण शुरु गरिने आश्वासन दिए । तर उनले दिएको आश्वासन अहिलेसम्म पूरा हुन सकेन ।

विद्युत उद्धाटन गरेको चार वर्ष भयो, अहिलेसम्म आयोजनास्थलकै वरिपरि न त विद्युत बल्यो, न पोल नै ठडियो । अहिले पनि शैल्यशिखर नगरपालिकाका अधिकांश बस्ती अन्धकारमा छन् । विद्युत नपाएपछि स्थानीय आन्दोलित भएका छन् ।

चमेलियाको बत्ती राष्ट्रिय प्रसारणमा जोडिँदा पूरै सुदूरपश्चिम उज्यालो भयो । तर चमेलिया वरिपरीका बस्ती अन्धकारमा छन् । यति मात्र होइन, नगरपालिका क्षेत्रमा अपर नौगाड र नौगाड खोलाबाट १७ मेगावट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।

विद्युतीकरणका लागि ठेक्का भएको लामो समयसम्म पनि काम नहुँदा ठेकेदार र प्राधिकरणले लापरबाही गरेको स्थानीयको गुनासो छ । गाउँमा विद्युतीकरण नभए भन्दै स्थानीयले ३३ केभी प्रसारण लाईन नै अवरुद्ध गरेपछि अहिले विद्युत प्राधिकरण र निर्माण व्यवसायीले काम थालेका छन् ।

विद्युत नपुगेको भन्दै शैल्यशिखर नगरका स्थानीय अहिले आन्दोलित छन् । तर, विद्यूत प्राधिकरण दार्चुला वितरण केन्द्र भने सामान आपूर्ति नहुँदा निर्माणमा ढिलाई भएको बताउँदै आएको छ । जलविद्युतको धनी मानिएको दार्चुलामा सयौं मेगावट विद्युत अहिले पनि उत्पादन भइरहेको छ ।
९ स्थानीय तह रहेको दार्चुलाका २ वटा गाउँपालिका र अन्य सात वटा स्थानीय तहका अधिकांश वडा र बस्तीहरुमा अझै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जोडिएको छैन । जसको कारण अहिले स्थानीय विद्युतको लागि आन्दोलन गर्न बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्