Logo
Logo

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा


- दृष्टि संवाददाता

441
Shares

एजेन्सी, २१ माघ । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन् । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रूपमा रूपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।

सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन् । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाउँदा अमेजनको नाफा पनि झन्डै दोब्बर अर्थात् ७.२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कुल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो ।

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । उनले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन् ।

५७ वर्षीय बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट सुरु गरेका थिए । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा (रिटेल) व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरू नवीन परियोजनामा काम गरिरहेको छ ।

उनका अन्य व्यवसायहरूमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लु ओरिजिन रहेका छन् । अमेजनको प्रमुख कार्यकारीका रूपमा नियुक्त हुन लागेका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रुपमा काम सुरु गरेका थिए । उनी सन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत छन् ।

बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उनीमाथि आफ्नो पूर्ण विश्वास रहेको प्रस्ट्याएका छन् । बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वासिङ्टनमा रहेको छ र यसले अमेरिकी राजधानीबाहिर दोस्रो मुख्यालय पनि बनाउँदै छ । अमेजनको बजार मूल्य मंगलबार झन्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झन्डै १० गुणा बढी हो ।

 

प्रतिक्रिया दिनुहोस्