वीरगञ्ज, २२ माघ । नेकपाले आज गरेको आम हड्तालको प्रभाव देशभर परेको छ । आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्।
यस्तै ,बुटवलमा पनि आमहड्तालको प्रभाव परेको छ। बिहानैदेखि राजमार्ग र बजार बन्द रहेको छ । बुटवलमा केपी शर्मा ओली समूहका कार्यकर्ताले बन्दको प्रतिकार गर्ने बताए पनि अहिलेसम्म उनीहरू सडकमा देखिएका छैनन् ।
त्यस्तै, विराटनगरमा बाइक, इरिक्सा, अटो रिक्सा फाट्टफुट्ट चलेका छन। अरू सवारी साधन र बजार सबै ठप्प छ। विराटनगरमा बन्द सफल पार्न प्रचण्ड-नेपाल समूहका केन्द्रीय नेताहरू महेश रेग्मी, शिवकुमार मण्डललगायत सडकमा छन्। वीरगञ्जमा पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् ।
पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेताहरु ठुलो संख्यामा निस्किए सडकमा
आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता सडकमा बाक्लो मात्रामा उत्रिएका छन् । सडकमा बिहानैदेखि बाक्लो मात्रमा प्रहरी पनि देखिएका छन् । सुरक्षाकर्मीले विहानै नेकपाका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता(कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका छन् ।
त्नपार्कबाट नेता(कार्यकर्ताको जुलुस नै निस्केको छ । अन्य चोक र सडकमा पनि कार्यकर्ताहरु बन्द गराउन निस्किएका छन् । बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता-कार्यकर्ता भने पक्राउ परेपछि नेकपाका नेता कार्यकर्ताहरु बाक्लो रुपमा सडकमा निस्किएका हुन् ।
पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ ।बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । हालसम्म बन्द गराउँदै हिँडेका ७१ जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।