काठमाडौँ । सनराइज बैंकले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका–७ भेडीयामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका–७ भेडीयामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा दीपेन्द्र शाहलार्ई नियुक्त गरेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।