काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको आमहड्तालका क्रममा प्रहरीले नै कोटेश्वर-जडिबुटी सडकखण्ड अवरूद्ध गरेको पाईएको छ ।
प्रहरीले कोटेश्वर चोकमा बन्दकर्ताहरूको भीड रहेको भन्दै काठमाडौंको जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको हो । प्रहरीहरुले ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ । सर्वसाधारणलाई अवरोध गरी भित्री बाटोबाट भने प्रहरीले ‘डाइभर्ट’ गराएको देखिएको हो ।
दर्जनौं सवारीसाधन, मोटरसाइकललाई गन्तव्य पुग्नुअगावै प्रहरीले फर्काएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वरको अवरोध हटाउने प्रयास भइरहेको जनाएको छ । भक्तपुर र ललितपुरमा भने आवागमनमा अवरोध गरिएको छैन।
गृह मन्त्रालयले भने बन्दका क्रममा शान्ति-सुरक्षा दिने भन्दै सर्वसाधारणको आवागमनमा सुरक्षा दिने बताएको थियो । तर, गृहको निर्णयविपरीत काठमाडौं प्रहरी र महानगरीय ट्राफिक महाशाखाले भने सडकमा सर्वसाधारणलाई अवरोध पुर्याएका छन्।