काठमाडौं, २२ माघ ।
प्रचण्ड– माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराम वाग्लेको रहस्यमय मृत्यु भएको छ । बुधबार राति करिब सवा ९ बजे बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत सोल्टीगेटनजिक सडकमा उनी मोटरसाइकलसहित लडिरहेको अवस्थामा अचेत भेटिएका थिए ।
उनलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेका हुन् । हेलमेट लगाइरहेको अवस्थामा भेटिएका वाग्लेको टाउकोमा केही चोट देखिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा दुर्घटना बताइएपनि आफन्तहरुले हत्याको समेत आशंका गरेका छन् ।
बुधबार साँझ उनी बरहथवा बजारमा नेकपाले निकालेको मसाल जुलुसमा सहभागी भएका थिए । ‘उहाँकै नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । त्यसपछि करिब ९ बजेतिर उहाँ हिँड्नुभएको थियो,’ नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले भने, ‘त्यसपछि उहाँ कहाँ जानुभयो भन्ने थाहा भएन । तर, सडकमा लडिरहेको अवस्थामा भेटिनुभयो ।’
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उद्धवसिंह भाटले सडक दुर्घटनामा परेर वाग्लेको ज्यान गएको हुन सक्ने बताए । ज.१०प ३२०६ नम्बरको मोटरसाइकल चढेर आएका वाग्ले कहाँ जाँदै थिए भन्ने खुलेको छैन ।
बरहथवाकै स्थायी बासिन्दा वाग्ले पछिल्लो समय परिवारसहित महोत्तरीको बर्दिबासमा बस्दै आएका थिए । ‘उहाँ बरहथवाबाट राजमार्गतर्फ जाँदै गरेकोजस्तो देखिन्छ, त्यसक्रममा जंगल प्रवेश गर्नै लाग्दा दुर्घटनामा परेको हुन सक्छ,’ डिएसपी भाटले भने । आफन्त र कार्यकर्ताले निष्पक्ष छानबिनको माग गरेका छन् ।