Logo
Logo

अमेरिकाले यमनको द्वन्द्वमा साउदी अरेबियाको गठबन्धनलाई साथ नदिने


- दृष्टि संवाददाता

882
Shares

काठमाडौं, २३ माघ । यमनमा हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले गरेको सैन्य कारवाहीलाई अमेरिकाले साथ नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीलाई दिंदै आएको समर्थन अन्त्य गर्ने बताएका छन् ।

जारी युद्धमा एक लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । बीबीसीका अनुसार यमनमा एक लाख १० हजारभन्दा बढीले ज्यान गुमाएको अनुमानछ ।

आफ्नो विदेश नीतिबारे पहिलोपटक बक्तव्य दिंदै अमेरिकी राष्ट्रपति बाइडनले यमनमा युद्ध अन्त्य हुनुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अब यमनमा युद्ध अन्त्य हुनुपर्छ । अमेरिका युद्धको पक्षमा छैन ।’ बाइडनका दुई पूर्ववर्तीहरुको प्रशासनले हुथी विद्रोहीविरुद्ध साउदी अरेयिबा नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धको समर्थन गरेका थिए ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो ।

बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्छ । त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्छ । बाइडन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो ।

बाइडनले यमनका लागि नयाँ दूतमा टीम लेन्डरकिंगलाई नियुक्त गर्ने ठानिएको छ । उनी अनुभवी कूटनीतिज्ञ र मध्यपूर्व मामिलाका विज्ञ हुन् । यसले ट्रम्प प्रशासनले चाल्दै आएको नीतिमा परिवर्तनको सङ्केत गरेको छ । ट्रम्प प्रशासनका बेला साउदी नेतृत्वको गठबन्धनलाई सहायतामा वृद्धि गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले यमनमा ८० प्रतिशत जनसङ्ख्या सहायता र संरक्षणको खाँचोमा रहेको भन्दै त्यहाँ विश्वकै खराब मानवीय सङ्कट रहेको जनाएको छ । यी घोषणाहरूले यमनको विनाशकारी युद्ध अन्त्य गर्ने बाइडनको प्रतिबद्धताको पुष्टि गरेका छन् ।

बाइडनले अमेरिकाको विदेश नीतिमा यमनको विषयबाहेक अन्य परिवर्तनहरू पनि घोषणा गरेका छन् । तिनीहरूमा शरणार्थी मामिला र जर्मनीबाट अमेरिकी सेनालाई फिर्ता गर्ने भन्ने यसअघिको निर्णय उल्ट्याउने लगायतका निर्णयहरू छन् ।

शरणार्थी भर्ना गर्ने सङ्ख्यालाई आर्थिक वर्षमा १५,००० बाट बढाएर १,२५,००० पु¥याउने घोषणा उनले गरेका छन् । बाइडनले म्यानमारकी प्रजातान्त्रिक नेत्री आङ सान सू चीलाई रिहा गर्न र प्रजातन्त्र पुनर्स्थापित गर्न पनि म्यानमारको सेनालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्