Logo
Logo

टेलिकम १७ वर्षमा : ७० प्रतिशत जनसङ्ख्यामा पहुँच पुग्याे


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २३ माघ । नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ ।

टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस सेवाको शुरुवात गरेको छ ।

सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार मात्रै भए पनि त्यसलाई वृद्धि गर्दै हाल दुई करोड नौ लाख पुगेको छ ।

कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ ।

कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।

एफटिटिएच सेवाअन्तर्गत एउटै फाइबरका माध्यमबाट डाटा र भ्वाइस उपलब्ध भइरहेकामा गत जनवरी १ एनटिटिभी ब्राण्डमा आइपिटिभी सेवाको सुभारम्भ भएपश्चात् भ्वाइस डाटा र भिडियोको अवधारणा कार्यान्वयन गर्नसमेत टेलिकम सफलता भएको छ ।

जीएसएम मोबाइलका ग्राहक एक करोड ८४ लाख ३१ हजार, सिडिएमए सेवाका १८ लाख आठ हजार र पिएसटिएन सेवाका ग्राहक छ लाख १७ हजार  छन् ।

त्यसैगरी एफटिटिएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय छन् । विसं २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्ट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कूल ५३ दशमलव ६५ प्रतिशत छ ।

त्यसैगरी इन्टरनेट डाटा सेवातर्फ कम्पनीको डाटा ९इमेल, इन्टरनेट आदि० सेवाका प्रयोगकर्ता २०७७ मङ्सिर महिनाको अन्त्यसम्ममा कूल एक करोड ६४ लाख नौ हजार ५् सय भन्दा बढी पुगेको छ ।

सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता एक करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता एक लाख ८१ हजार ५सय, एफटिटिएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय छन् । जीएसएम फोरतर्फ हालसम्म करीब २५ लाख ग्राहक पुगिसकेको छ ।

आव २०७६/७७ मा कम्पनीको आय रु ४२ अर्ब ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु नौ अर्ब ७४ करोड भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्‍याएको योगदान हेर्ने हो भने आव २०७५/७६ मा कर तथा गैह्रकर गरी कम्पनीले रु ३३ अर्ब ३० करोड रकम योगदान गरेको थियो भने यस आव २०७६/७७ मा रु ३५ अर्ब पाँच करोड योगदान गरेको छ ।

त्यसैगरी टेलिकमले पूर्वाधार विकासतर्फ मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र वागमतीका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्