Logo
Logo

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर माैसम बद्ली


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, २३ माघ । मुलुकभर मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका शुक्रबारबाट हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी भेगका केही क्षेत्रमा हल्का वर्षा भएको छ । तराई क्षेत्रमा भने बाक्लो हुस्सुसहित शीतलहर छ ।

मौसमविद् निराजन सापकोटाका अनुसार पश्चिमी वायुका कारण प्रणाली परिवर्तन हुँदा यसपटक आइतबारसम्मै चिसो हुने र त्यसपछि विस्तारै खुल्नेछ । पश्चिमी वायु पाकिस्तान हुँदै भारतबाट नेपालमा जोडिन आएको हो । यो विस्तारै पुर्वउत्तर सरेर सकिने छ । प्राप्त विवरणअनुसार राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षाको संभावना छ । देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हिमपातको भइरहेको र यो क्रम राती पनि रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १ का धरै स्थानहरु तथा प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

यस वर्ष चिसोको प्रभाव औसत भन्दा कम
मुलुकमा यसपाली जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम छ । गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपाली अहिलेसम्म त्यो अवस्था नदेखिएकाले यसलाई कम नै मान्नुपर्ने मौसमविद्को दावी छ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडो याममा औसतभन्दा बढी नै तापक्रम रहने विवरण सार्वजनिक गरेका थिए । दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । उक्त अध्ययनले औसतभन्दा बढी तापक्रम सुख्खा रहने औँल्याएको थियो । सोहीअनुसार नै मौसम अघि बढेको देखिन्छ । मुख्यतः समुन्द्र र वायुमण्डलीयस्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वीभेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो ।

काठमाडौंमा पनि कम चिसो
शुक्रबार काठमाडौँमा न्युनतम तापक्रम ३ दशमलव ५ डिग्री छ । अधिकतम २० डिग्रीसम्म छ । विगतका वर्षमा भन्दा यसवर्ष तापक्रम औषतभन्दा बढी नै छ । गत वर्ष पनि यो मौसममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो । यसपाली भने अहिलेसम्म त्यो अवस्था देखिएको छैन । गएको डिसेम्बर २४ मा काठमाडौँमा १ दशमलव २ डिग्री तामक्रम थियो । डिसेम्बर ३१ मा काठमाडौँमा त्यो भन्दा कम न्युनतम तापक्रम ० दशमलव ८ डिग्री पुगेको थियो । विगतको इतिहास हेर्ने हो भने सन् १९७८ फेब्रअरी ४ मा सबैभन्दा कम माइनस २ दशमलव ४ डिग्री तापक्रम पुगेको अभिलेख छ ।

 

प्रतिक्रिया दिनुहोस्