कावासोती, २७ माघ । बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो ।
जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउदा जामको समस्यासमेत हुने गरेको छ ।
दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ । त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ ।
विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख मुनेन्द्र थापा बताछन् ।
धेरै भार बोकेका ट्रक बढी बिग्रने गरेको थापाको भनाइ छ । उकालोमा लोड तान्न नसक्दा ट्रक बिग्रने गरेको उनले बताए । ‘दैनिकजसो छ सातवटा गाडी बिग्रेकै हुन्छ, कहिले बीच बाटोमै बिग्रन्छ , कहिले घुम्तीमै बिग्रन्छ । त्यसले गर्दा जाम हुने, दुर्घटना हुने धेरै समस्या पारेको छ ।’ थापाले भने ।
सडको बिचमा र घुम्तीमा सवारी बिग्रदा निकै समस्या हुने गरेको उनी बताउनछन् । उनले भने, ‘बिग्रेका गाडीले जाम नगराओस्, दुर्घटना नगराओस् भनी ट्राफिक खटाउनपर्छ , कुरेर बस्नुपर्छ । तेही पनि कहिले त घण्टौँ जाम हुन्छ । जाडोको समयमा कुहिरोले रोकेका गाडी राम्ररी देखिन्न, त्यही गाडीमा अर्को गाडी ठक्कर खाएर दुर्घटना हुन्छ । ’
बिग्रेका सवारी तुरुन्तै हटाउन (साइड) लाउन नसक्दा पनि झनै समस्या हुने गरेको उनले बताए । उनले भने, ‘लोड ट्रक क्रेनले हटाउन सक्दैनन्, बनाउनैपर्ने हुन्छ । सवारी चालकले कहिले आवश्यक पाटपूर्जा नजिकै पाउदैनन् । कहिले साहुसँग सम्पर्क हुनसकेन भन्छन् । कहिले मिस्त्री पाइएन भन्छन् । जसका कारण बिग्रेको सवारीलाई तुरुन्तै हटाउन हामी सक्दैनौ । ’
दुर्घटनाको जोखिम कम गर्न र जाम हुने समस्या समाधानका लागि बिग्रेका सवारीको छिटो व्यवस्थापन गर्नु नै उत्तम विकल्प भए पनि आफूहरु त्यसो गर्न असमर्थ रहको थापा बताए ।
दाउन्ने क्षेत्रमा यात्रा गर्दा चिसो समयमा कुहिरो लागेका बेला चालक आफैँले सर्तकतापूर्वक सवारी चलाउन उनले आग्रह गरे । क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई कारवाहीको दायरामा ल्याउन सके केही हदसम्म यो समस्या कम गर्न सकिने उनले बताए ।
नवलपरासी पूर्वमा पर्ने पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा सडकको कालोपत्र उप्किएर ठूलाठूला खाल्डो हुँदा आवतजावत गर्नेले निकै सास्ती भएको गुनासो गरेका थिए । दाउन्ने क्षेत्रको सडक पूरै जीर्ण बनेको थियो ।
गुनासो आएपछि अहिले सडक विभागले दाउन्ने क्षेत्रको सडक मर्मतसम्भार गरेको छ । ग्राभेल विछ्याएर रोलरले च्यापेर बाटो सम्याइएको छ भने, धुलो उड्न नदिनका लागि नियमित रुपमा पानी राख्ने गरेको छ । बाटोको मर्मत भएपछि अहिले आउजाउ गर्न सहज भएको छ ।