Logo
Logo

ठेक्का सम्झौताको दुई वर्षपछि पुल निर्माण हुँदै


दृष्टि संवाददाता

1.7k
Shares

काठमाडौं, २७ माघ । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि सुरु हुन लागेको छ । ६ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकोमा तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले अब काम सुरु हुने जनाएको हो ।

चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सडकमासरकारले एक एक किलोमिटरको दूरीमा पर्ने गरी ६ स्थानमा आकासेपुल निर्माण सुरु गरेको थियो । महालक्ष्मीस्थान, बल्खु र सानेपामा अहिले पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताए ।

उनका अनुसार निर्माण व्यवसायीका कारणले नभएर पुल निर्माण सडक विभाग र योजना कार्यालयकै कारण ढिलाइ भएको हो । यी पुलको निर्माण एउटै कम्पनीमार्फत भइरहेको छ ।

डिजाइनको समस्या हटाइएकाले अब लामो समय नलाग्ने उनले दावी गरे । उनले भने,‘असार मसान्तसम्ममा नै पुल निर्माण भइसक्ने देखिएको छ ।’ यसअघि नै सातदोबाटो, बालकुमारी र एकान्तकुनामा पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको छ ।

चीन सरकारको सहयोगमा निर्माण भएको सडकमा पहिले तीन स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने गरी डिजाइन तयार भएको थियो । सोही आधारमा चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्काे र बागडोल गरी तीन स्थानमा पुलको निर्माण गरेको थियो ।

आठ लेन चौडाइको सडकमा सवारी साधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकाशे पुलको आवश्यकता भएको भन्दै विभागले थप छ स्थानमा पुल निर्माण अघि बढाएको थियो ।

चीन सरकारले सडक हस्तान्तरणपछिको एक वर्ष मर्मत अवधि चलिरहँदा विभागले पुल निर्माण सुरु गरेको थियो । चक्रपथको पहिलो खण्डमा कम सङ्ख्यामा पुल भएकाले समस्या भएकाले विभागले विस्तारको क्रममा रहेको चक्रपथको दोस्रो खण्ड (कलङ्कीबाट गोपीकृष्ण हल अगाडिसम्म) प्रत्येक एक किलोमिटरमा एउटा आकाशेपुलको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्