काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सिइओमा नियुक्त गरेको हो । यसअघि माछापुच्छ्रे बैंकको सिइओका रुपमा काम गरिसकेका शर्माले बुधबार नै सनराइज बैंकको सिइओका रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि नियुक्त गरेको हो ।
बैंकका निवर्तमान सिइओ जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै उनी बैंकका सिइओका रुपमा भित्रिएका हुन् । पौडेलको सञ्चालकसँगको लफडाका कारण पौडेलले मंगलबार राजीनामा दिएको बुझिएको छ ।
शर्मासँग यसअघि ग्लोबल आईएमइ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक लगायतका संस्थामा काम गरेको अनुभव छ । बैंक वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव भएका शर्मा कुशल व्यवस्थापकका रुपमा मात्र होइन कर्जा व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रुपमा परिचित छन् ।
एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् ।