काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गर्न प्रहरीले पुर्जी दिएको छ । बिहीबार बिहानै उनको निवासमा प्रहरी पुगेपछि उनका समर्थकले चर्को नाराबाजी गरिहेका छन् । यसैबीच नेतृ झाँक्रीलाई पक्राउ पुर्जी थमाएको हो । उनलाई राज्यविरुद्धको कुसर लगाएइएको छ । यसबारे केही छिनमै नेतृ झाँक्रीले पत्रकार सम्मेलन गर्दैछिन् ।
नेतृ झाँक्रीले मिडियालाई प्रतिक्रिया दिँदै प्रतिगमनविरुद्ध आफू लड्न तयार रहेको बताएकी छन् । उनले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै संविधानले दिएको अधिकारअनुसार आफूले अभिव्यक्ति दिएको बताइन् ।
केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनी आलोचित भएकी थिइन् । ओली निकट अनेमसंघले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै केही दिनअघि झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापन पत्र बुझाएको थियो । त्यसपछि उनलाई पक्राउ गर्ने प्रयास प्रहरीले गर्दै आएको थियो ।