Logo
Logo

नेतृ झाँक्री पक्राउको चौतर्फी विरोध : ‘सरकारको तानाशाह प्रवृतिको पराकाष्टा’


दृष्टि संवाददाता

819
Shares

काठमाडौं, २९ माघ । नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीलाई लिएर चौतर्फी विरोध सुरु भएको छ । नेतृ झाँक्रीलाई बिहीबार उनकै निवासबाट राज्यविरुद्ध कसुर गरेको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
झाँक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको सरकारी पक्षको आरोप छ । पक्राउ पर्नुअघि उनले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन । उनले भनिन्, ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्तिजस्तै ।’ उनले प्रतिगमनविरुद्ध लडिरहने पनि बताइन् ।
नेकपाको माधव समूहको केन्द्रीय सदस्य तथा पूर्वसांसद झाँक्रीलाई गिरफ्तारी गर्नु सरकारको तानाशाह प्रवृति भएको संज्ञा दिइएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले झाँक्रीलाई प्रक्राउ गरेर सरकारले निरंकुश प्रवृत्तिको नांगो व्यवहार भएको बताएका छन् । उनले नेपालको संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि बुजो लगाउने दुस्साहस गरिएको बताए ।
यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले पनि नेतृ झाँक्रीको गिरफ्तारीलाई लिएर चर्को विरोध गरेका छन् । उनले टिव्टरमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?’ उनले राष्ट्रप्रति व्यंग्य गर्दै लेखेका छन्, ‘उहिले महाराजा अहिले राष्ट्रपति !’ ‘सरकार झ्यालखानाको संख्या थप किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन’ नेता थापाले ट्विट गरेका छन् ।
यस्तै, नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले रामकुमार झाँक्रीलाई पक्राउ गर्नु सरकारको तानाशाही प्रवृति भएको बताएका छन् । नेतृ झाँक्रीको गिरफ्तारीपछि ट्विट गरेका छन्, ‘जुन मुद्दा लगाए पनि मञ्जुर छ, रामकुमारी झाँक्री प्रकरणबाट थप प्रस्ट भएको छ ।’ उनले विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र भएको समेत बताएका छन् । ‘आलोचना गर्ने मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्