काठमाडौं, २९ माघ । प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि आक्रोशित युवाहरूले गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा मागेका छन् ।
शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी गर्दै बानेश्वर चोकतर्फ निस्केका युवाहरुले रामकुमारी झाँक्रीलाई रिहाईको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
आक्रोशित युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्को नाराबाजी गरेका छन् । प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर बिहीबार पक्राउ गरेको छ ।
गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उनलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।
राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।