काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेतृत्वको गद्धारीकै कारण क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका छन् ।
मोहन वैद्ध किरणले वक्तव्य जारी गर्दै नवसंशोधनवादी विचलनका कारण जनयुद्ध इतिहास बनेको बताएका छन् । मोहन वैद्यद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादीक्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।’
उनले विज्ञप्तिमा नेपाली क्रान्तिले धक्का खाएर पनि क्रान्तिको प्रक्रिया नरोकिएको उल्लेख गर्दै भनेका छन्, ‘झापा आन्दोलन र जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु सत्ता र सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका छन् ।’ यसैले देश असफल सिद्ध हुँदै गएको समेत उनले बताएका छन् ।