बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए ।
प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्नुहुँदै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गरे । उनले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे जस्तो सहयोग चाहिन्छ सरकारले पूरा गर्ने विश्वास दिलाए ।
उनले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताए । ‘कर तिर्नुस् नाफा कमाउनुस्’, उनले भने, ‘विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ ।’
प्रधानमन्त्रीले कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस्ता आयोजनाहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले बुटवलको जनसङ्ख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकमाझ यो केवलकार लोकप्रिय बन्ने बताए ।