Logo
Logo

सरकार अधिनायकवाद बन्यो: कांग्रेस


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, ३ फागुन । सरकारले विवादास्तपद सुचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ । नेपाली कांग्रेसले सामाजिक सन्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको हो ।

व्यापक विरोधका बाबजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको हो ।

कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नमिल्ने र नपाईने कांग्रेसको ठहर छ । आज कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’

‘सामाजिक सन्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।’ विज्ञप्तीमा लेखिएको छ ।

सामाजिक सन्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी रहेको कांगे्रसको भनाई छ । कांग्रेसले यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गरेको छ । कांग्रेसले विशेषगरी सामाजिक सन्जाल प्रयोगकर्ता युवा पुस्तालाई जागरुक हुन आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्