Logo
Logo

जी–न्युजका सम्पादक सुधीर चौधरीलाई कारवाही गर्न सिफारिस


दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं, ६ फागुन । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले भारतीय सञ्चार माध्यम जी–न्युजका सम्पादक सुधीर चौधरीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

हेलिकोप्टर होभरिङ तथा नियमनका सम्बन्धमा सबै हेलिकोप्टर सेवा प्रदायकलाई पत्र काट्दै निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण गराएको भन्दै चौधरीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

निकुञ्जले हेलिकोप्टर कम्पनीहरूलाई लेखेको पत्रमा ‘कालापत्थर क्षेत्रमा विना अनुमति अवतरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लिखित सहमति तथा यस कार्यालयको लिखित अनुमति विना छायांकन गरेकोमा आवश्यक कारबाहीका लागि लेखी पठाएको’ उल्लेख गरिएको छ ।

बिना अनुमति हेलिकोप्टर अवतरण गराएको र छायांकनसमेत गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको र कारबाहीका लागि सिफारिस भएको निकुञ्जको भनाइ छ ।

निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण नगराउनसमेत सबै सेवा प्रदायकहरूलाई आग्रह गर्दै २६ पुसको घटनाप्रति ध्यानाकर्षण भएको समेत गरेको छ ।

२६ पुसमा भारतीय पत्रकार सुधीर चौधरीले सिम्रिक एयरको हेलिकोप्टर निकुञ्जमा अवतरण गराई छायाँकन गरी भारतीय सञ्चार माध्यम जी–न्युजमा प्रशारण गरेका थिए ।

यही विषयमा निरन्तर विवाद भएपछि निकुञ्जले बल्ल कारवाहीकाे सिफारिस गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्