Logo
Logo

एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि


दृष्टि संवाददाता

504
Shares

काठमाडौं, ७ फागुन । विभागीय टिम एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ ।

शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई तीनका विरुद्ध शून्य गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै अनिता केसीले एक गोल गरिन् । तीतसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो ।

एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । उपाधिसंगै एपीएफले १५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्‍यो । तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेको छ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । सर्वोत्कृष्ट खेलाडी बनेसंगै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् ।

यस्तै एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर चूनिए ।

त्यस्तै पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार प्राप्त गरेका छन् । त्यस्तै फेयर प्ले चन्द्रपुरले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्