Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनीदेखि विप्लव समूह वार्ता गर्न तयारसम्म


दृष्टि संवाददाता

1.5k
Shares

हेडलाइन्स्

१. प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका चेतावनी, सेटिङमा प्रतिनिधिसभा विघटन सदर नगर्ने खेल भइरहेको ओलीको आशंका, आफ्नो सभामा सहभागीको संख्या हरेर मात्र फैसला गर्न सर्वोच्चलाई प्रधानमन्त्रीको दवाव ।

२. प्रतिनिधिसभा विघटनको मुद्धा संवैधानिक वा असंवैधानिक भन्ने विषयमा नेपाली कांग्रेसभित्र मतभेद् बढ्दो, अदालतले जे भन्छ त्यही मान्नुपर्छ भन्ने सभापति शेरबहादुर देउवाको धारणाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलको आपत्ति, सभापति देउवाले अदालतसँग सेटिङ मिलाएको वरिष्ठ नेता पौडेलको आशंका ।

३. संसद विघटनबारे सर्वोच्चले गर्ने फैसला स्वीकार्य हुने नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनको भनाइ, प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेकाले अदालतले पुनःस्थापना गर्ने विश्वास, प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको एक मात्र विकल्प रहेको धारणा ।

४. प्रतिबन्धित नेकपा विप्लव समूह सरकारसँग वार्ताका लागि सकारात्मक, आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँग वार्ताका लागि तयार रहेको महासचिव नेत्रविक्रम चन्द विप्लवको भनाइ, विप्लव समूहसँग वार्ताका लागि आन्तरिक रुपमा सरकारको प्रयास जारी ।
५. नेकपा प्रचण्ड–माधव समूहले उचित व्यवस्थापन गर्न नसकेको भन्दै पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ का सांसद उषाकला राई केपी शर्मा ओली समूहमै फर्के, पार्टी एकता नै पहिलो प्राथमिकता रहेको प्रतिकृया, मन्त्री बन्ने चाहनाले आली समूहमै फर्केको भन्दै आलोचना ।

६. आफ्नो समूहको सभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाए, प्रधानमन्त्री ओली विमानस्थलबाट सभास्थलतर्फ जान लाग्दा कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि प्रहरी हस्तक्षेप, प्रहरी र प्रदर्शनकारीबीच झडप ।

७. भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अभद्र व्यवहार गरेको भन्दै नेपाली पक्षबाट रुपन्देहीको बेलहिया नाकामा प्रर्दशन, बेलहियाका स्थानीय र सामान खरिद गर्न अन्यत्रबाट आएका नेपालीले बेलहिया–सुनौली दशगजा क्षेत्रमा नाराजुलुुस गरेपछि दुई घण्टा नाका ठप्प, किनमेलका लागि भारतीय बजार सुनौलीमा पुगेका नेपालीलाई एसएसबीले अपशब्द बोल्ने, कुकुर लगाएर लखेट्ने, सामान खोसिदिने गरेको आरोप ।

८. शेयर बजारले नयाँ उचाइ कायम गरिरहँदा लगानीकर्ताको मनोबल पनि उच्च हुँदै, यो साताबाट बैंकिङ सेक्टर चमक देखिन थाल्यो, बुलिस ट्रेन्डमा रहेको बजारमा अहिले सेक्टरवाइज बढोत्तरी भइरहेको शेयर विज्ञको विश्लेषण ।

९. म्यानमारमा सेनाले गरेको ‘कू’को विरोधमा आन्दोलन चर्किदै, सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई प्रर्दशनकारीको मृत्यु, विश्वभर कोभिड–१९ विरूद्ध २० करोड खोप प्रयोग, विश्वका १०७ मुलुकमा खोप अभियान तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूको भनाइ ।

१०. एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न विधाका २६ खेलाडी ‘वर्ष उत्कृष्ट खेलाडी–२०७६’ बाट सम्मानित, पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ सवोत्कृष्ट खेलाडी ।

प्रतिक्रिया दिनुहोस्