सुर्खेत, ९ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएपछि कुखुरा र परेवा नष्ट गरिएको छ । वीरेन्द्रनगर नगरपालिका—१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ ।
पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईका अनुसार पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको छ ।
सुर्खेतमा पनि बर्डफ्लु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका उनले बताए । बर्डफ्लु पुष्टि भएपछि झण्डै चारसय कुखुरा र परेवा नष्ट गरिएको सूचना अधिकारी चपाईले बताए ।
बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको उनले बताए । रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको छ ।