काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुलुस, सभा र विरोध प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताएका हुन् । प्रेस युनियन सुनसरीले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनको विरोधमा गरिने प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताएका हुन् ।
पार्टीका सभापति शेरबहादुर देउवाले पोखरामा केही दिनअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहको जस्तो प्रदर्शन गर्न कांग्रेससँग पैसा नभएको बताएपछि देउवाको आलोचना भएको थियो ।
आइतबार पौडेलले पनि त्यसको जवाफ दिँदै भने- ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन ? यसका लागि त पार्टीको संकल्प र निर्णयले पुग्छ । पैसाले जुलुस गर्नु पर्दैन । ’ उनले भने ।
पार्टीले आह्वान गरे कार्यकर्ता स्वतः स्फुर्त सडकमा आउने पौडेलेको भनाई छ । उनले भने, ‘प्रदर्शनका लागि पार्टीले निर्णय गरेर आह्वान गरे कार्यकर्ता र जनता सडकमा स्वतःस्फुर्त आउँछन्,’ संविधान बचाउने लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन् ।’