Logo
Logo

उपसचिवलाई एक वर्ष कैद


दृष्टि संवाददाता

8.6k
Shares

काठमाडौं, १० फागुन ।
घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालयका तत्कालिन प्रमुख उपसचिव भक्त बहादुर लामा दोषी ठहर भएका छन् । उनलाई घुस दिने कमलबहादुर शाही समेत दोषी ठहर भएका छन् । बिशेष अदालतले दुवैलाई २÷२ लाख रुपैयाँ जरिवाना भएको छ ।


बिशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलाशले उनीहरुलाई दोषी ठहर गरी कैद र जरिवानाको सजाय सुनाएको हो ।
काठ दाउराको छुट पूर्जी म्याद थप गर्नका लागि शाहीसँग लामाले चार लाख घुस लिएका थिए । शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना दिई घुस दिएका थिए । घुस लिएलगत्तै आयोगले उनलाई पक्राउ गरेको थियो ।

सुरुमा शाहीले आयोगमा लामाविरुद्ध लिखित उजुरी निवेदन दिएका थिए । अनुसन्धानमा सहयोग गरेकोले सजायको मागदाबीमा पूर्ण छुट दिइ आयोगले उनलाई साक्षीका रुपमा पेश गरेको थियो । तर, पछि अदालतमा गएर उपसचिवलाई फाइदा हुने गरी बयान गरेपछि पछि आयोगले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । दुवै जनालाई १÷१ वर्ष कैद र २÷२ लाख जरिवानाको फैसला भएको बिशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्