काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको राजनीतिक पुस्ताले समाजलाई अशल चरित्रका आधारमा स्थापित गर्न नसकेकाले नयाँ पुस्ताको काँधमा अशल बन्ने जिम्मेवारी थपिएको बताएका छन् ।
‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्चशिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आज आयोजना गरेको दोस्रो ‘करियर फेस्ट’ नामक मेलामा कक्षा १२ पछि उपयुक्त उच्चशिक्षको खोजीमा रहेका युवाहरुलाई प्रोत्साहित गर्दै उनले सो कुरा बताएका हुन् । उनले ‘माथिमाथि पुग्ने आकाङ्क्षा भन्दा तलतलबाट सागरमा पुग्ने लक्ष्य लिएमा प्रगतिपथमा पुगिने तर त्यसका लागि निरन्तर बगिरहनुपर्ने’ सन्देश दिए ।
प्रवक्ता शर्माले समाजमा लोकतान्त्रिक अधिकार, विकास र समृद्धिका नारा स्थापित भए पनि व्यवहारमा हत्या, हिंसा र अन्याय कायम रहेकाले यसलाई चिर्न सक्ने नयाँ नेतृत्वको खाँचो रहेको औल्याए ।