Logo
Logo

सबैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे देश समृद्ध बन्छ : कुलमान घिसिङ


दृष्टि संवाददाता

7.3k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेमा देश समृद्ध हुने बताएका छन् ।

‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्चशिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको दोस्रो ‘करियर फेस्ट’लाई सम्बोधन गर्दै उनले रहेका मान्छेले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।

उनले ‘उज्यालो नेपाल अभियान’ को आधारभूमिबारे व्याख्या गर्दै कठिन स्थितिमा पनि जोखिम मोलेर समयमा निर्णय लिने तथा परम्परागत कर्मचारीतन्त्रलाई त्यागेर सेवाग्राहीको सेवा र विश्वास आर्जन गर्न समर्पित भएमा हरेक संस्थाका व्यवस्थापक र व्यावयायी सफल हुने अनुभव सुनाए ।

टेक्सस इन्टरनेशनल कलेजका प्रिन्सिपल भेषराज पोखरेलले आफूहरु विद्यार्थी हुँदा पनि नेताहरुले लोकतन्त्रकै पाठ सिकाउने गरेको र आफू शिक्षक हुँदा पनि उही लोकतन्त्रबारे सुन्नुपर्ने स्थितिबाट युवाहरुलाई मुक्त गराई स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग हुने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलाय, पोखरा विश्वविद्यालय आदिबाट सम्बन्धनप्राप्त व्यवस्थापन र सूचना तथा सञ्चार प्रविधि विषयमा अध्यापन गर्ने कलेजका २० भन्दा बढी स्टल रहने तथा दुई हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेको सो सर्भिसेजका प्रबन्ध निर्देशक विशाल केसीले जानकारी दिए ।

उच्चशिक्षाको तयारीमा रहेका विद्यार्थीलाई केन्द्रित गरेर ‘नेपाल टिन लिडर्स’ को सहयोगमा आयोजना भएको मेलामा विज्ञबाट परामर्श र अनुभव आदानप्रदान गराइको थियो ।

सोही क्रममा विभिन्न कलेजले छात्रवृत्तिको सुविधा घोषणा गरिएको थियो । सोही क्रममा नबील बैँकका नायब कार्यकारी निर्देशक मनोज ज्ञवाली, प्रस्तोता सन्दीप क्षेत्री, सृष्टि केसी, अल्मोडा राना उप्रेतीलगायतले विद्यार्थीको अशल तथा व्यावसायिक भविष्यका लागि अभिप्रेरणामूलक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्