चितवन । संसद विघटनको सम्बन्धमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् ।
चितवनमा आज ओली समूह निकट प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएका समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भने सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताएका हुन् ।
सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको पोखरेलले चर्चा गरे । जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने र निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनले बताए ।
त्यस्तै नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास रहेको बताए ।
ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति र व्यक्तिगत कुण्ठाका कारण पार्टी फुटेको बताउँदै उनले समयमा सही रुपले व्यवस्थापन गर्न नसक्दा जनता र कार्यकर्तामा निराशा छाएको बताए ।