Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सत्ता समीकरणमा हतार नगर्ने कांग्रेसको निर्णयदेखि तीन महिनादेखिको तलब सांसदले पाउनेसम्म


दृष्टि संवाददाता

1.7k
Shares

हेडलाइन्स् :

१. सत्ता समीकरणको विषयमा हतार नगर्ने नेपाली कांग्रेस पदाधिकारी बैठकको निर्णय, नेकपा विवाद नटुंगिएसम्म मौन बस्ने, नेकपाका दाहाल–नेपाल समूह र ओली समूहले भेट्न खोज्दा भेट्ने, छलफल गर्ने गरेपनि कुनै पक्षलाई समर्थन नगर्ने बैठकको निष्कर्ष ।

२. प्रतिनिधिसभाको बैठकको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने नेकपा प्रचण्ड–माधव समूहको रणनीति, कांग्रेस र जसपासँग मिलेर संयुक्त सरकार गठन गर्ने, ओलीसँग मिल्ने कुनै पनि ढोका बाँकी नरहेको प्रचण्डद्वारा पेरिसडाँडामा आफू निकट नेतालाई ब्रिफिङ ।

३. प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले फैसला सुनाएको तीन दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता, अदालतले दिएको १३ दिनभित्र बैठक बोलाउनुपर्ने म्यादका सन्दर्भमा छलफल भएको आंकलन, फागुन २४ अगावै बैठक बोलाउने तयारी, राजीनामा नदिइ अविश्वासको प्रस्ताव सामना गर्न ओली तयार ।

४. ऋषिराम कट्टेलद्वारा नेपाल कम्युनिस्ट पार्टीको नामका विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सर्वोच्चको सुनुवाइ सकियो, न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले पार्टीको नाममा रहेको विवादको सुनुवाई सकाएसँगै फागुन २० गते फैसला आउने, अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिक रुपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्यमाथि नै प्रश्न चिन्ह आउने सम्भावना ।

५. प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला भारतीय राजदूतको अर्थपूर्ण सक्रियता, नेकपाको विवादमा कांग्रेस आवश्यक देखिएका समयमा राजदूत विनय मोहन क्वात्राद्वारा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल, एजेन्डाबारे औपचारिक जानकारी भने आउन बाँकी ।

६. सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि संसद नचलेको अवधिको पनि गरेर २ सय ७५ सांसदहरुले तलब सुविधा पाउने, तीन महिनाको एकै पटक गरेर ५ करोड ३६ लाख २५ हजार रूपैयाँ सांसदले तलबमात्र पाउने ।

७. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको संख्या पुनः सच्यायो, मन्त्रालयले थप ८३ जना कोरोना संक्रमितको मृत्यु भएको संख्या जोड्दै नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिको संख्या २ हजार ७ सय ६७ पुग्यो, यसअघि ६ सय १९ जना मृतकको संख्या थपिएको थियो ।

८. शेयर बजार कारोवारको अन्तिम दिन बिहीबार बजारमा ४५ अंकको गिरावट, कारोबार रकम ६ अर्बमा सीमित, नेप्सेमा ३ वाणिज्य बैंक सहित १ लघुवित्तको ३ करोड ३९ लाख कित्ता बोनस सेयर सूचीकृत, अब आइपीओ रिजल्ट अनलाइन मिडियाबाट हेर्न नपाइने ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आरसिटी र ब्वाइज यूनियन विजयी, आरसिटीद्वारा नयाँ बस्ती चारका विरुद्ध दुई गोल अन्तरले पराजित, ब्वाइज यूनियनद्वारा झम्सिखेलमाथि चारका विरुद्ध शून्य गोल अन्तरको जीत, एन्फाद्वारा महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त ।

१०.र, भारत र पाकिस्तानका सेनाबीच सीमाक्षेत्रमा गोली हानाहान रोक्ने सहमति, संयुक्त वक्तव्यमा दुवै पक्षले सीमारेखा र अन्य क्षेत्रमा पूर्वसहमति, आपसी समझदारी र युद्धविरामलाई पूर्ण रूपमा पालना गर्ने उल्लेख, म्यानमारमा सैनिकलाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध ।

प्रतिक्रिया दिनुहोस्