काठमाडौं, १४ फागुन ।
सुन तस्करीमा संलग्न एक युवती पक्राउ परेकी छिन् । बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा बाहिरी मुलुकबाट काठमाण्डौं आगमन भएका यात्रुबाट दुई वटा सुनको बाला संकलन गर्ने काठमाडौं थली बस्ने पुष्पा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पार्किङ एरियाबाट उनलाई दुई वटा सुनको बालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा उनको आफन्त जेठाजु नाता पर्नेले बिगतमा समेत पटक पटक यसरी भन्सार छलि गरी पठाएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
विदेशबाट फर्कदा ५० ग्राम सम्म सुन ल्याउन पाइने प्रावधान भएकाले त्यसको दुरुपयोग गरी तस्करी भइरहेको छ । ५० ग्राम सुन तस्करी गर्दा ४० हजारसम्म फाइदा हुने भएकाले यस्तो हुने गरेको छ।