Logo
Logo

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई


दृष्टि संवाददाता

819
Shares

ओखलढुंगा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । ओखलढुंगाको रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने बताउँदै उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकारविरोधी समूहलाई सहयोग पुगेको बताए ।

बहुमत प्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको उनको भनाइ थियो ।

“हामी अदालतको फैसला मान्छौँ तर यसले मुलुकलाई निकास दिँदैन । अझ अराजक तत्वलाई बल पुग्छ”, उनले भने, “मुलुुकलाई फेरि पनि ओलीले नै नेतृत्व गर्नुहुनेछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा उहाँकै नेतृत्वमा हामी पूरा गर्ने अठोटका साथ अघि बढेका छौँ ।”

मुख्यमन्त्री राईले नेपालमा सङ्घीय सांसदको खरीदबिक्री शुरु भएको र त्यसको असर प्रदेशसभामा पनि परेको बताउँदै बहुमत प्राप्त दल नहुँदा सरकार गठन र सञ्चालनमा अनेकौँ झमेला हुने बताए । मुख्यमन्त्री राईले प्रदेश नं. १ मा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव असफल बनाइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्