काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरेको यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको भनाई छ ।
कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै विदा स्वीकृत हुने गाउँपालिका अध्यक्षले बताए ।
यसबाट कर्मचारीहरुले आफू कार्यरत गाउँपालिकाबारे जान्ने बुझ्ने मौका पाउने र सरुवा भएर अन्यत्र गएपछि पर्यटकीय क्षेत्रको प्रचार पनि गर्ने विश्वास गाउँपालिकाले लिएको बताइएको छ ।
यसअघि केन्द्र सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरुलाई सातामा दुई दिन विदा दिन प्रस्ताव गरे पनि त्यसबारे निर्णय भने हुन सकेको छैन ।