Logo
Logo

नासुको घुसकाण्डमा अधिकृत पनि फन्दामा


दृष्टि संवाददाता

9.9k
Shares

काठमाडौं, १६ फागुन ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको घुसकाण्डमा थप एक कर्मचारी समेत पक्राउ परेका छन् । ना.सु. नरेन्द्र चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा निज दाहाललाई भेट्ने क्रममा कर्मचारीहरु समेत मिलाउनु पर्छ भनि अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले लेखापढीको काम गर्ने रामबाबु दाहालले रु. ८,०००÷– (आठ हजार) लिई ना.सु. नरेन्द्र चन्दलाई दिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।


अनुसन्धानको सिलसिलामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य व्यवसाय व्यवस्थापन तथा नियमन शाखामा अधिकृतस्तर सातौंमा कार्यरत अर्जुन सुवेदीको समेत त्यसमा मिलेमतो पुष्टि भएको आयोगले जनाएको छ । न नरेन्द्र बहादुर चन्द र सोही विभागमा लेखापढी व्यवसाय गर्ने लेखापढी व्यवसायी रामबाबु दाहालले सेवाग्राहीको वाणिज्य व्यवसाय दर्ता÷प्राइभेट फर्म दर्ताको प्रमाणपत्र दिलाई दिएवापत रु. ८,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएको र अर्जुन सुवेदीले सेवाग्राहीको काम गरिदिएवापत रिसवत लिन मञ्जुर गरेको र नरेन्द्र बहादुर चन्दले उक्त रिसवत रकम बुझेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको तथा रामबाबु दाहालले सेवाग्राहीको काम सम्पन्न गर्नको लागि मोलाहिजा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको पुष्टि भएकोले अर्जुन सुवेदी, नरेन्द्र बहादुर चन्द र रामबाबु दाहालउपर बिगो रु. ८,०००।– (आठ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्