Logo
Logo

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुँदै


दृष्टि संवाददाता

756
Shares

मोरङ । शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ ।

फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बस्ती शिलान्यास गर्ने कार्यक्रम छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा रु ३० करोड लागतमा १ सय ३२ घर निर्माण हुनेछ ।

बस्ती बनेपछि नगरपालिकाका १ सय ६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएका र २७ परिवार सन्थाल जाति प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १ सय ६ सन्थाल जातिको गरी कुल १ सय ३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।

समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी गुरुयोजनाको डिजाइन गरिएको हो ।

शहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्