Logo
Logo

स्याटेलाइटमार्फत स्पिडको इन्टरनेट सेवा घर–घरमा !


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । प्रविधिको युगलाई अझ व्यस्थित र सस्तो बनाउन विभिन्न प्रयोगहरु सुरु भएका छन् । स्याटेलाइटमार्फत घर–घरमा सीधै इन्टरनेट तथा फोन सेवा उपलब्ध हुने भएको छ । यो सस्तो र निकै द्रुत गतिमा हुने पनि बताइएको छ ।

एलन मस्कले सञ्चालनमा ल्याएको स्टारलिंक नामक कम्पनीले स्याटेलाइट मार्फत इन्टरनेट र फोन सञ्चालन गर्ने तयारी गरेको छ । यो वर्षको अन्त्यसम्ममा स्टारलिंकले यस्तो इन्टरनेट सेवा ल्याउँदै छ । यो सेवा सञ्चालनमा आएपछि ३०० मेगाबाइट प्रति सेकेण्डको दरले डाटा उपलब्ध हुनेछ ।

करिब २० एमएस लेटेन्सी रहने छ, यसको मतलब कुनै पनि कम्प्युटरबाट गरिएको खोजको नतिजा करिब २० मिलिसेकेण्ड मा आउँछ । एक मिलिसेकेण्ड भनेको एक सेकेण्डको हजार भागको एक भाग हो । रकेटको प्रयोगबाट यो कम्पनीले स्याटेलाइटहरू अन्तरिक्षमा स्थापित गर्नेछ र सो स्याटेलाइटमार्फत घर–घरमा सीधै इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

अमेरिकामा यो सेवाका लागि दश हजार व्यक्तिले सदस्यता लिइसकेका छन् । इन्टरनेटले जोडिएको संसारमा टेलिकम व्यवसाय सबैभन्दा धेरै कमाउने र सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेका छन् । दक्षिण अफ्रिकी अमेरिकन अर्बपति एलन मस्कको प्रवेशसँगै पूराना कम्पनी क्रमशः धराशायी हुँदै जाने अनुमान गरिएको छ । यो सेवा सञ्चालनमा आए यसले संसारभरिका टेलिकम कम्पनीहरूको व्यापारमा ठूलो असर पार्नेछ ।

स्टारलिंकसँग अमेरिकी सरकारी संस्था फेडेरल कम्युनिकेशन्स कमिशनले ९० करोड अमेरिकी डलर बराबरको एक सम्झौता गरेको छ, जसअनुसार दूर्गम क्षेत्रमा यसले सहज र सस्तो इन्टरनेट सेवा पुर्‍याउनेछ । यस विषयमा अन्य इन्टरनेट सेवा प्रदायकहरूले विरोध गरिसकेका छन् ।

स्टारलिंकको सेवा प्राप्त गर्न अब कुनै पनि अफिसमा जाने, त्यहाँबाट कामदार आएर घर–घरमा वा अफिसहरूमा तार जोड्ने वा सिस्टम बनाइदिने अवस्था रहँदैन । जुन व्यक्तिलाई सो सेवा चाहिन्छ उसले स्टारलिंकको वेबसाइटमा गएर सदस्यताको लागि आवेदन दिन्छ र अनलाईन पैसा तिर्छ ।

त्यसपछि कम्पनीले एउटा उपकरण पठाउँछ जसले स्याटेलाइटसँग सीधै सम्बन्ध स्थापित गर्छ । यो उपकरण जडान गर्न पनि सबैले आफैले सक्ने र यसका लागि कोही थप प्राविधिक पनि नचाहिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्