चन्द्रगढी जेलमा हुँदा रामनाथ जीलाई अन्तिम पटक भेटेको थिएँ । त्यो भेटमा उहाँले भन्नु भएको थियो– ‘हाम्रो पार्टी बच्यो भने, वर्गीय लडाइँको क्रममा कम्युनिष्ट सत्ता आयो भने, कम्युनिष्टहरूको सरकार बन्यो भने दुईवटा कुरा हुन्छन्, नेताहरु प्रलोभनमा फसे राष्ट्र र जनताले ठूलो दुःख पाउँछन् । प्रलोभनमा फसेनन् भने सबै जनता खुसी हुन्छन् । जनताको अनुहारको खुसी आउने छ । होइन भने देश र जनताले दुःख पाउनेछन् । हाम्रो रगतको मूल्य पनि खेर जानेछ ।’
आज म त्यही पल स्मरण गर्दैछु । देश संकटमा छ । रामनाथजीले भन्नु भए जस्तै कम्युनिष्टको नेतृत्वमा धेरै पटक सरकार त बन्यो तर जनताको मुखारमा खुसी छाउन सकेको छैन । शहीदको बलिदानकै अपमान भएको छ ।
झापा विद्रोहले जुन उद्देश्य लिएको थियो, त्यो उद्देश्य अनुसार नेतृत्वले भूमिका निर्वाह गर्न सकेका छैनन् । वर्गीय आन्दोलनबाट सत्तामा पुगेपछि नेतृत्व विचलित भए । देश र जनताको हितमा काम गरोस् भन्ने हो । तर गर्न सकेनन् । यो झापा आन्दोलन मात्र होइन, देशमा भएका सबै राजनीतिक आन्दोलनको उद्देश्य विपरित छ । यो देशको लागि ठूलो दूर्भाग्य हो ।
शहीदले धन सम्पत्ति भनेनन्, परिवार भनेनन् तर आज शहीदको अबमूल्यन भएको छ । पार्टीका नेतृत्वले हिजो ‘शहीद परिवारको जिम्मा लिन्छौं, पार्टीले जिम्मा लिन्छ’ भनेका थिए नेताले शहीद परिवार भूले, आन्दोलनमा सहभागी सबै भूले । आज, परिवावाद हावी भएको छ । अहिले त श्रीमान–श्रीमती, सासु–ससुरा, छोरा–छोरी, बुहारीको राम राज्य छ ।
कम्तिमा पनि हिजो राजनीति गर्ने क्रममा दुःख पाएका मान्छे कुन अवस्थामा बसेका छन् भन्ने नेतृत्वले खोज्नु पर्ने हो, तर वास्तै गर्दैनन् । के गरिरहेका छने, अवस्था कस्तो छ ? भनेर एउटा कमिटी बनाए बुझ्ने, उनीहरूको समस्यालाई मध्यनजर गर्ने, उनीहरूका समस्याहरू समाधान गर्नेतर्फ कोही लागेनन् । कुर्सीका लागि मात्रै लडाईँ भयो, हुँदैछ ।
पार्टीका नेतृत्वले हिजो ‘शहीद परिवारको जिम्मा लिन्छौं, पार्टीले जिम्मा लिन्छ’ भनेका थिए नेताले शहीद परिवार भूले, आन्दोलनमा सहभागी सबै भूले । आज, परिवावाद हावी भएको छ ।
आज कुनै एक नेतृत्व मात्र कम्युनिष्ट आर्दशबाट विचलित भए भन्ने अवस्था छैन । झापा विद्रोहबाट आएकादेखि जनयुद्धबाट आएका सबै नेतृत्वमा विचलन आएको छ । हिजो जनताको वरिपरि बसेर हाम्रा सुरक्षा गर्ने जनता छन् भनेर हिँडेका नेता आज उनै जनतालाई विश्वास गर्न नसक्ने भएका छन् ।
नेता वारिपरी ४०/५० जना सुरक्षाकर्मी लिएर जनतासामु पुग्ने भएका छन् । राजामहराजाले पनि यति धेरै गरेका थिएनन् । सत्तामा पुगेपछि कम्युनिष्ट नेतृत्व राजामहाराजा भन्दा पनि खत्तम भए ।
आधारभूत वर्गसँग कम्युनिष्ट पार्टीको सम्बन्ध टुट्दै गएको छ । नेतृत्व श्रमजीवि वर्गलाई हेला गरेर दलाल पूँजीपतिलाई माया गर्ने भएका छन् । बारम्बार कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्यो । तर, नेतृत्वले आफ्नो विगत विर्सेका कारण आफ्नो वर्गको पक्षमा काम गर्न आवश्यक ठानेनन् । देशमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीलाई कारवाही गर्नुको सट्टा संरक्षण गर्ने काम भएको छ ।
जनताको पक्षमा काम गर्ने लक्ष्य लिएका हाम्रा नेतृत्व आज कुर्सीको लडाइँमा लिप्त छन् । एकले अर्का सहयोद्धाको कुरा मान्ने अवस्था छैन । तँ ठूलो कि म ठूलो ? मैले भनेको मान्नु पर्दैन ? मैले भनेको सबैले मानेर जानुपर्छ, मैले भनेको नमान्ने तँ को होस् ? यस्तै यस्तै समस्याले गाँजिएका छन्, नेतृत्व ।
यही पारा हो भने कम्युनिष्ट आन्दोल जोगिँदैन, नामको मात्र कम्युनिष्ट पार्टी रहन्छ । वर्गीय राजनीति नारा र अक्षरमा परिभाषित भएपनि व्यवहारमा देखिँदैन । त्यसले गरीब झन गरीब हुँदै गए धनी झन धनी हुँदै गए । भ्रष्टाचार र कमिसन रोकिएन, रातारात मान्छेले करोडौंको घर बनाए । छोराछोरीको भेषभुषामा रातारात परिवर्तन गरिरहेका छन् ।
नेतृत्वकै कारण आज पार्टी फेरी विभाजनको संघारमा पुगेको छ । विभाजन शहीदको सपना थिएन । पार्टी विभाजनले केही व्यक्तिको स्वार्थ त पूरा होला तर गौरवपूर्ण बलिदानको अपमान हुनेछ । आज पार्टी विभाजनको संघारमा हुँदा को कता ? भन्ने विषय मुख्य होइन । यो समय कुनै नेताको पक्षमा लाग्नेभन्दा पनि पार्टी एकताको पक्षमा नेता कार्यकर्ताले भूमिका निर्वाह गर्नु पर्छ ।
कम्युनिष्ट आन्दोलन रक्षाका लागि फेरि एक पटक संघर्षमा जुट्नु पर्ने बेला आएको छ । कम्युनिष्ट एकता कायम गर्दै आम जनताको पक्षमा काम गर्नसके मात्र शहीदको सपना साकार हुनेछ ।
(झापा विद्रोहका क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा हत्या गरिएका शहीद रामनाथ दाहालका श्रीमती विश्वेश्वरा दाहालसँग दृष्टिकर्मी एमपी सुब्बाले गरेको कुराकानीमा आधारित । विश्वेश्वरा पूर्वसांसद हुन् ।)