Logo
Logo

इन्सपेक्टर बढुवामा नयाँ प्रस्ताव


दृष्टि संवाददाता

449.2k
Shares

काठमाडौं, २१ फागुन ।
नेपाल प्रहरीमा इन्सपेक्टरका एक सय भन्दा धेरै पद रिक्त भएका एक महिना भइसकेको छ । ती पदमा कसरी बढुवा गर्ने अन्योलताका कारण सइबाट इन्सपेक्टरमा बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले रिक्तमध्ये धेरै पदमा बढुवाबाट पदपुर्ती गर्नुपर्ने प्रस्ताव गृहमन्त्रालयलाई गरेको छ। गृहले समयमा निर्णय गर्न नसक्दा बढुवा प्रभावीत भएको छ ।

रिक्तमध्ये ६० प्रतिशत पदमा बढुवाबाट पदपुर्ती गर्नेबारे सुरुमा छलफल भएको थियो । गत वर्षकै इन्सपेक्टर भर्ना चलिरहेकाले यसपटक बिशेष परिस्थितीका कारण सबै रिक्त पदमा बढुवा गर्ने छलफल समेत भएको थियो ।

तर, अफिसर पदमा रिक्तमध्ये धेरै पदमा नयाँ पुस्तालाई भर्ना नै गर्ने अन्तर्राष्ट्रिय प्रचलन भएको र सुरक्षा संगठनका लागि यो प्रावधान महत्वपूर्ण हुने निष्कर्ष निकालिएको थियो । जसकारण यो प्रस्ताव अनिर्णित हुन पुगेको हो ।
पछिल्लो समय गृहमा नयाँ प्रस्तावमा छलफल भइरहेको छ । २०७१ सालभन्दा पहिले भर्ना भएकाको हकमा इन्सपेक्टरमा ६० प्रतिशत बढुवाबाट पदपुर्ती गर्नुपर्ने प्रस्ताव छ । २०७१ सालसम्म रिक्तमध्ये ६० प्रतिशतमा बढुवा हुन्थ्यो । भर्ना भएकै समयको वृत्तिविकासको नियम लागू हुनुपर्ने मान्यताअुनसार यो प्रस्ताव अघि बढाइएको छ । २०७१ मा संशोधन भएको नियमावलीमा भर्नाबाट ६० तथा बढुवाबाट ४० प्रतिशत पदपुर्ती कायम गर्ने निर्णय भएको थियो । सोही आधारमा ६० प्रतिशत हुने सम्भावना छ । त्यो पनि नभए ५०/ ५० प्रतिशत हुने गृह मन्त्रालयका एक अधिकारीले बताए ।

प्रहरीमा सईबाट इन्सपेक्टर बढुवाको जाम छ । १५ वर्ष पदावधि पुगेकै हाल तीन सय भन्दा धेरै इन्सपेक्टर छन् । यही हिसाबले सइबाट इन्सपेक्टर हुन २० वर्ष लाग्ने अवस्था आएको छ । यसले जुनियर प्रहरी अधिकृतको वृत्तिविकासमा ठूलो असर पर्ने भएकाले यो समस्या समाधानका लागि पहल भइरहेको छ । बढुवाको कोटा बढाएर मात्र पनि समस्या समाधान नहुने भएकाले नयाँ पद नै सिर्जना गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्