काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आज (आइतबार)बाट सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ ।
आयोगका अनुसार सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच/पाँच जनाको प्रतिनिधित्व छ । गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ ।
राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहनेछ ।
सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम छ । सम्मेलनको उपलब्धि सोमबार धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने आयोगले जनाएको छ ।