काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुनेछ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।
यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले बताए । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।
यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।
सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।
मन्त्रालयका अनुसार भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र नेपाल आईपुग्नेछ । आजदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।
करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ । असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको हो । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।
कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।
कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्याउने प्रयास भइरहेको मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पु¥याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पु¥याउने प्रयासमा छौँ ।”
सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १।४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए ।