काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्नीप्रसाद सापकोटासँग भेट गरेका छन् ।
संसद सतिवालय स्रोतका अनुसार आज बिहान प्रचण्ड र नेपालले संसद सचिवालयमा गएर सभमुख सापकोटालाई भेट गरेको हो । प्रचण्ड–माधवले सभामुख सापकोटासँग भेटमा के विषयमा छलफल भयो ? भन्नेबारे भने खुलाईएको छैन ।
आज ४ बजेबाट प्रतिनिधिसभाको सातौं हिउँदै अधिवेशन बस्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंबैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज ४ बजे संसद बैठक बस्न लागेको छ ।
आजको संसद बैठकमा प्रचण्डलाई दलको नेताको हैसियतमा सम्बोधन गर्न दिए मोठभेट हुने चेतावनी समेत ओली समूहले सभामुख सापकोटालाई दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन सक्ने ओली आंकलन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार राति नेकपा संसदीय दलका पदाधिकारीहरुसहितका नेताहरुबीचको छलफलमा सभामुखले प्रचण्ड-माधव पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने कुरा उठेको स्रोतले बतायो ।
नेकपा अहिले दुई खेमामा बाँडिएको छ । तर औपचारिक रुपमा भने विभाजित भइसकेको छैन । दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा आज बस्न लागेको संसद बैठकलाई निकै चासोका साथ हेरिएको छ ।