Logo
Logo

के शिवरात्रिमा गाँजा खानैपर्छ ?


नवीन राई

4.2k
Shares

हिन्दू धर्मावलम्बीको विशेष पर्वमध्ये एक हो, महाशिवरात्रि । हिन्दू पञ्चाङअनुसार हरेक वर्ष फागुन कृष्णपक्ष चतुर्थीका दिन महाशिवरात्रि मनाइन्छ । उक्त असवरमा शिवभक्तहरू शिवको पूजा, आराधना र उपाशनाका लागि शिवालय जाने गर्छन् । शिवालयमा शिवलिङ्गमा जल, दूध र वेलपत्र चढाएर शिवको पूजा गर्ने गरिन्छ ।

महाशिवरात्री पर्व विशेषगरि भारत र नेपालमा मनाइन्छ । शिवरात्रिको दिन काठमाडौं को पशुपतिनाथमा भक्तजनको मेला नै लाग्छ । केही वर्षअघिसम्म पशुपति क्षेत्र आउने विदेशीमा भारतीयमात्रै हुन्थ्यो । तर, पछिल्लो समय युरोप र अमेरिकाबाट समेत शिवरात्रि हेर्नकै लागि दर्शनार्थी आउने गरेका छन् ।

महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर पारीको राममन्दिर परिसरमा नागा बाबाले भरिन्छ । बाबाहरुले लगाएको धुनी र उनीहरुले तानेको गाँजाको बुङबुङ्ती धुँवा उड्छ । बाबाहरुसँग युवा पनि गाँजाको सर्को तान्न नारिन्छन् । उनीहरू महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो सेवन गर्ने पर्वको रुपमा लिन्छन् । ‘शिवले खान हुने हामीले किन नहुने ?’ उनीहरूको प्रश्न हुन्छ । गाँजा, भाङ नखाए शिवरात्रि नै नहुनेसम्म तर्क गर्न उनीहरू पछि हट्दैनन् । कहिल्यै पनि गाँजा, भाङ नखानेहरुले समेत शिवरात्रिमा भगवान शिवको बुटि वा प्रसाद भन्दै तान्ने गरेको पाइन्छ ।

यस्ता धार्मिक जनविश्वासले समाजमा अनेक प्रश्नहरु उठ्न थालेको छ, शिवरात्रि नशा सेवनको पर्व हो त ? शिवरात्रिको वास्तविक मुल्यमानइता के हो ? गाँजा नखाएसम्म शिव खुशी हुँदैनन् ? शिवरात्रि नयाँ पिढीलाई गाँजा खान सिकाउने पर्व त बनिरहेको छैन ?

लाग्न सक्छ, शिवले यस प्रकारका नशायुक्त पदार्थको सेवन किन गरे ? यसको पछाडि एक कथा लुकेको छ । मिथ्यअनुसार देवता र दैत्य मिलेर अमृतका लागि समुद्र मन्थन गरिरहेका थिए । उक्त समुद्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किरहेको थियो ।

पवित्र अमृतलाई त विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लगे । त्यसपछि बाँकी रह्यो विष । त्यो विष निकै घातक थियो । त्यसको एक थोपाले पनि पृथ्वीमा ठूलो हानी पुर्याउन सक्थ्यो । सृष्टिका लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो । अब समस्या पर्न गयो, यो विष कसले पिउँने ?

त्यसपछि सबै देवताले शिवलाई अनुरोध गरे । सबै देवीदेवताले शिवलाई यो विष ग्रहण गर्न आग्रह गरे, किनकी शिवले मात्र त्यो विषको प्रकोपलाई सहने सामथ्र्य राख्थे । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि शिवले उक्त विष पिए ।

शिवले विष पिउन साथ उनको गला पत्नी पार्वतीले समातिन् । विष शिवको शरीरभित्र पस्न पाएन । विष शिवको गलामा रोकियो । विष पिउनाले शिवको स्थिति बिग्रन थाल्यो । शिव अचेत हुन लागे, त्यसको प्रभाव शान्त गर्नका लागि शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।

सोही मिथ्यअनुसार शिवलाई भांग र धतुरा चढाउने परम्परा बसेको मानिन्छ । तर, पर्व मनाउने नाममा हुने कुनैपनि विकृतिलाई स्वीकार गर्न सकिन्न । जति नै धर्मको चर्चा गर्दा पनि सतिप्रथा क्रूरताको पराकाष्ठा थियो । त्यसैले यो प्रथा सर्वथा अस्वीकार्य रर्यो । शिवको नाममा नशालु पर्दाथ खाने प्रवृतिले पनि समाजमा विकृति फैलिँदै गएको छ ।

शिवरात्रीको अवसरमा शिवको प्रसाद भन्दै गाँजा तान्ने गलत परम्परा बिकास हुँदै गएको छ । शिवरात्री मनाउनभन्दा पनि गाँजा तान्न युवा पशुपतिनाथ पुग्छन् । उत्तिकै मात्रामा खुलेआम गाँजा व्यापार हुने गरेको छ ।

शिवरात्रिमा शिवबुटीका नाममा कम्तीमा एकसर्को गाँजा तान्नुपर्ने, शिवलाई मनपर्ने भन्ने नाममा भाङको लड्डु खाने, भाङ, धतुरो मिसाएर हलुवा बनाउने जस्ता प्रचलन छन् । तर, यसले स्वास्थ्यमा गम्भीर असर पार्ने जनरल फिजिसियन डा. भरतकुमार यादव बताउँछन् । उनका अनुसार खालीपेटमा गाँजा सेवन गर्दा वान्ता हुने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायत समस्या देखिन्छ । ‘भोको पेटमा गाँजा सेवन गर्दा बेहोस भएर सासै रोकिन पनि सक्छ,’ उनी भन्छन्– ‘शिवजीको प्रसादका रूपमा मिठाई र फलफूल खान सकिन्छ ।’

सुरुमा यसको लत लाग्दैन भनी सोचेपनि विस्तारै यो नशालु र व्यसन हुने पदार्थको रुपमा सिद्ध हुने यादव बताउँछन् । यादवका अनुसार लत लागिसकेपछि यसको सेवन रोक्दा वा घटाउँदा चिड्चिडाहट, रिस, छट्पटी, डर, त्रास, अनिद्रा, उदासी तथा टाउको र पेट दुख्ने, पसिना छुट्ने, ज्वरो आउनेजस्ता लक्षण पैदा हुनसक्छ ।

धर्मशास्त्रका जानकार गाँजा, धतूरोलाई कुनै शास्त्रमा शिवजीले प्रसादको रुपमा खानु भनेको कतै नभेटिने बताउँछन् । शिवको बिराट स्वरुपको गलत ब्याख्या गरेर केही ‘गजेडी’ र आशक्तहरूले समाजमा विकृति फैलाउने काम गरेको उनीहरू बताउँछन् । शिवजीको प्रसादका रूपमा गाँजालाई गलत प्रचार गरिएको पण्डित ऋषि घिमिरे बताउँछन् । उनी भन्छन्, ‘शिवलाई गाँजा, धतुरो र भाङ नभई मह, दूध, बेलपत्र चढाउन सकिने सकिन्छ, शिवजीको प्रसादका रूपमा गाँजालाई गलत प्रचार गरियो ।’

धर्मलाई शासन, संस्कृति र धर्म पहिचानको रूपमा लिइन्छ । त्यसैले धर्मले मानिसलाई सकारात्मक बाटोतिर लैजान प्रेरणा दिनुपर्छ । धर्मले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सामाजिक सद्धभाव अनि धार्मिक सहिष्णुता कायम राख्न बल पुर्याउँछ । तर, अहिलेको पुस्तालाई न यसको महत्व नै थाहा छ, न संस्कृति जोगाउने दायित्व बोध नै । उनीहरूलाई भगवान शिवको नाममा एक सर्को गाँजा तान्न र भाङको लड्डु खान पाए पुग्छ ।

पशुपतिनाथ क्षेत्रमा अधिकांश दर्शनार्थीले शिवरात्रिलाई संस्कृति र मौलिकताको रुपमा मनाउने गरेको पाइँदैन । जोगीको भेषमा शिवरात्रिको माहोलमाझ गाँजाको खुलेआम व्यापार गर्ने गरेको पान्छ । अमर्यादित, उच्छृङ्खलगायतका क्रियाकलापले शिवरात्री पर्वलाईसमेत उपहास गरेको महसुस गराएको छ ।

कानूनले वर्जित गरेको नसालु पदार्थको खुलेआम प्रयोगले समाजमा विकृति फैलिएको छ । अर्कोतिर अपराधिक क्रियाकलापले समेत प्रश्रय पाएको छ । यस्ता विकृतिको अन्त्यका लागि जिम्मेवार निकाय सक्रिय रहनु जरुरी छ ।

नयाँ पिढीलाइ धर्म र संस्कारलाई जोगाउन झनै चुनौतीपूर्ण हुँदै गएको छ । सामाजिक संजालमा गाँजा र भांङ, धतूरोको सगौरव तस्बिर राखेको पाइन्छ । यो नकारात्मक क्रियाकलापको अर्को पाटो हो । जसले नजानिँदो तवरबाट समाज र संस्कार बिग्रँदै जान्छ । युवा कुलतमा फस्दै जान्छ र त्यसले विकराल रुप लिन्छ ।

प्रतिक्रिया दिनुहोस्