बुढेसकालमा प्रेमका कुरा गर्नु हुन्छ कि हुन्न, मलाई थाहा छैन । यो उमेरमा प्रेमका कुरा बर्जित हुन् भने मसँग गर्न मिल्ने अरू कुरा छैन । त्यसैले सबैसँग क्षमा माग्दै यो चोलाबाट बिदा लिन्छु । तर, जानुअघि भन्नैपर्छ, जीवनमा मैले जानेको जम्मा जम्मा त्यही एकसरो प्रेम हो ।
किनभने मैले पढ्न सकिनँ । अथवा यसो भनौं, मेरो उमेरमा पढ्ने चलन थिएन । अझ मजस्तो तल्लो भनिने जातको मानिसले पढेर के गर्नु छ र भन्ने लाग्थ्यो । लाग्थ्यो होइन, माथिल्ला भन्नेहरूले हामीलाई त्यसो भन्थे ।
साँच्ची, तपाईं को रे ? ए, ए ठीकै छ, । के गर्ने हाम्रो जमानामा रेडियो मात्रै थियो । मैले सुन्ने पनि त्यही हो । एकपल्ट अखबारका मान्छे मलाई भेट्न आएका थिए, देशमा प्रजातन्त्र आयो भन्दै । के-के जाती सोधेका थिए । त्यसपछि आज तपाईं आउनुभयो । धन्यवाद । तर के हो यो अनलाइन भनेको ?
नरिसाउनु होला । जान्दिन त म के गरौँ ?
अँ म भन्दै थिएँ । तपाईंले भनेपछि सम्झिन खोजें पुराना दिनहरू । मलाई त उनी बाहेक केही याद आउँदैन । यति सम्म निरीह भै सकेछु कि मलाइ खासमा उनी बाहेकका कुनै पल याद हुन सकेनन् । हामी भेटिनु अगाडिका यादहरूमा पनि उनी कुनै न कुनै रूपमा जोडिएर आउँछिन् । तपाईं आउनुअघि पनि मैले उनलाई नै सम्झिरहेको थिएँ । उनलाई नसम्झेको क्षण नै छैन । बुझ्नु भयो, कस्तो लाग्छ भने जन्मबाटै उनी मसँग मनमा जोडिइरहेकी थिइन् । भन्नेहरूले त भन्दा हुन उनीसँगको मेरो संगम धेरैपछि मात्र जुरेको थियो तर म र मेरो स्मृतिमा उनी यो मात्रै हैन अघिल्लो जुनीदेखिको अंश बोकेर बाँचेकी थिइन् ।
००००
यो तमाखु खान छोड्नुपर्यो अब हजुरबा । यो धुवाँले तपाईलाई धेरै गलाइसकेको छ ।
आजभोलि हाम्रो घरमा पनि धेरै मानिसको आउजाउ छ । घरका सबैले पढेका छन् । उनीहरू उर्दी जारी गर्न सक्ने भएका छन् । हालसालै बसेको बैठकको निर्णय हुनु पर्छ त्यो, सुनाउन मेरी सानी नातिनी मेरो कोठामा उपस्थित भएकी थिई ।
अब म कति नै बढी बाँचुँला र, नानी, मलाई यो यातना नदेऊ बाबा !
म विदीर्ण भएर छताछुल्ल भइरहँदा मलाई थोरै पनि आशा थिएन कि मेरा अनुहारका धाँजाहरूमा दगुरिरहेका याचनाहरू मेरै परिवारका कसैले देख्न सक्लान भनेर । खासमा अहिलेको पुस्तासँग त्यो आँखा नै पो काहाँ रहृयो र ?
यो ८० कटिसकेको बूढो चिलाउनेको रुखजस्तो ज्यान घिसार्दै अँझै बाँचिरहने सपना बोकेर यो उमेरमा मेरो जिन्दगिको सबै भन्दा प्रिय मित्र यो तमाखुलाई त्याग्नु मैले जीवन त्याग्नुभन्दा कष्टप्रद थियो । कस्तो लाग्छ भने म बाँचिरहेको छैन, मृत्युको अनुहार हेरिरहेको छु ।
समयसंगै मान्छेलाई जीवनमा साँच्चै एक्लो र फगत एक्लो हुने काल आएरै छोड्ने रैछ । पचासौं बर्स एक अर्काका गुन र बैगुन दुबै पिएर बाँच्दै जाँदा, त्यो लत बनेर नशा नशामा दगुर्न थालेको जीवनसाथीको साथ अचानक छुटेर मान्छे जब एक्लो हुन्छ त्यसपछि त्यही वियोगको पीडामा नै ऊ आधाआधी त मरिसक्दो रैछ ।
बिहान एक मुठी तातो पानी खाएर तीतामीठा विगतको यादमा चार सर्को तमाखुको धुवाँ तान्दा जो एउटा टेको मनले पाउँछ नि त्यसले जिन्दगिका निरस लाग्दा केही घन्टाहरू घिसाउन सहज भएर जाने रैछ ।
मैले जानेको जम्माजम्मी रामायणका केही श्लोकहरू हुन् । हिजो मैले रामायणका श्लोक कण्ठस्थ पारेको थाहा पाउँदा यहाँका ठूलाबडाको सातो गएको थियो । मैले के अपराध गरेको थिएँ र ? आज त्यो काम लागेको छ । त्यही श्लोक गुनगुनाउदै बिचलित मनलाई फेरि तमाखुको गुजुल्टे धुवामा स्थिर गराएर बिहानलाई रातको बाहुपासमा धकेल्नु एउटा युद्ध नै जिते भन्दा ठूलो लाग्दो रहेछ । आफ्नै आँगन परदेश भई जाने समय माग्नेले खुद्रा खर्चिए जस्तो दम र प्रेसरका चक्किले किनेको बुढ्यौलीका पल पल समय खर्चिनु मै एउटा लगाव बनेर जाने रैछ ।
अस्ति भर्खर बालसखा सोमलाल बितेर गयो, उसको याद पनि यही तमाखुमा जिउँदो बनेर बसेको पाउँछु । दिनको एकपटक त जसरी पनि आइपुग्थ्यो ऊ तमाखुको तलतल मेट्न अनि मनका तीतामीठा विकारहरू साट्न । उसको त्यो गमनले मलाई अझै अपांग बनाएर गएको छ । जीवनका कति दुःखका नगल्ने दालहरू थिए जो हामीले बालखैदेखि एक अर्कामा बाँडेर त्यसलाई चपाएका थियौँ । आज घरभरिका जहानहरू मिलेर पनि उसको ओजन धान्न सक्तैनन्, जब कि भन्नलाई यिनीहरू मेरा जीवनका सबैभन्दा नजिकका मानिन्छन् ।
घरभरि मान्छेहरू हुनु र नहुनुमा पनि कुनै अन्तर नहुनु अर्को रमाइलो पक्ष रहेछ जीवनको यो समयको । एउटा बूढो ज्यान र मनको भावना या सुन्ने, सुनिहाले पनि सहनसक्ने बुझ्ने मन भएकाहरू जब घर भरी मन्छे भएर पनि कोही हुँदैनन् नि, जंगलमा बस्नु र घरमा बस्नु उस्तै उस्तै हुने रैछ । जंगलका रुखहरू त कम से कम मन फुकाएर रोएको या हाँसेको र रिसमा कहिलेकाहीं मनको भडास फुकाएको सहने हैसियत राख्दा हुन्, तर मान्छेको जात त्यो गर्न सक्दो रैनछ । सन्तानहरू, नातिनातिनाहरू तपाईँलाई एउटा यस्तो कठपुतली बनेर बाँचेको हेर्न रुचाउने रहेछन् ।
विभिन्न बहानामा मैले जिन्दगीलाई टेको दिँदै आएको तमाखुमाथि जब प्रहार गर्ने बलियो प्रयास भएको छ, अब जिन्दगी सहज रूपले घिसार्न सक्ने सम्भावना क्षीण हुँदै हुँदै गएको देखि रहेछु । मेरो स्वस्थ र लामो आयुको दुहाइ दिएर घरमा भएको निर्णयले मेरा नौनाडी फतक्क गलेर आएको छ । किशोर अवस्थाको अन्तिमतिर मेरो जीवनमा जोडिन आएकी मेरी अर्धाङ्गनिीले पचासौं वर्ष दिएको साथ जब नियतिले लाछेर लग्यो, त्यसै पनि बाँच्नु एउटा तितो न तीतो ओखती खानु सरह भै नै सकेको हो, तै पनि त्यसको मर्यादा राख्ने सानोतिनो प्रयास चलेकै थियो अब भने मनले हार खाएको छ ।
अम्मल छोड्दा लम्बिनसक्ने मेरो उमेरको दुहाइ दिएर घरकै कसैले मेरो तमाखुमा खर्च भएको ५ रुपियाँमा र्याल चुहाएको नमीठो हरक आएको बेला म मेरो उमेरभरि मैले अनेक पीडा सहेर अनि आफ्नै र मेरी उनका अनेकन इच्छाहरूको बलिदान खेपेर जोडेका चार हल मेलो खेतको औचित्य खासै भेट्न सकिरहेको छैन ।
कुनै दिन मेरी उनले एउटा आग्रह गर्दी हुन् त म सायद खुसी-खुसी उनको नाममा यसलाई तिलाञ्जली दिँदो हुँ ।
अनौठो त के भइदियो भने उनको जीवनको अन्तिम वाक्यमा समेत मप्रति जस्तै मेरो हुक्का र तमाखुमा उनको समानान्तर प्रेम जिउँदो थियो । मसँगै मेरो लतलाई उनले कसरी सर्लक्क स्वीकारिन् त्यो बुझ्न तिर म कहिले लागिन बरु त्यो प्रेमप्रति नतमस्तक रहेर मैले त्यो आदतलाई नै जिन्दगी बनएर बाँचिदिएँ । यसरी जिन्दगीका थुप्रै अनुच्छेदहरू यो संग जोडिएर म संगै ती बाँचेका छन् ।
आफ्नो अशक्त पिताको लागि सल्काएर दिँदा दिँदै बिस्तारै थाहै नपाई कलिलैमा बसेको यो लत जीवनका केही कालसम्म त दिवंगत पिताको याद र प्रेममै साथ रहृयो । बुढा हजुरबुवाबाट हजुरबा , हजुरबाबाट बुबा हुँदै ममा आएको हुक्कामा जोडिएर आएको याद, एउटा परम्परा या भनौं विरासत बनेर गयो । अनि बुबाको आडिलो स्मरण ।
त्यो जमाना कुनै तस्वीर र फोटो फ्रेमको जमाना पनि थिएन । हुक्काको उही नलीको उही छेउमा, जहाँ मेरा बा समाएर तमाखु खानुहुन्थ्यो । त्यहीँ म जब आत्मीयताले समाउँथें, त्यही नै थियो बुबाको अभावको तलतल मेटाउने आडिलो अम्मल ।
तमाखुको परिभाषा त्यतिमा मात्र सीमित रहेन, उमेर र दायित्व बढ्दै जाँदा जीवनमा बढेका तनाउ र दबावका लागि ओखती पनि त्यही नै हुँदै गयो । जिन्दगी त्यस्तै हो जोसुकै जीवनमा जोडिए पनि र जतिसुकै नजिक भए पनि कहिलेकाहिँ केही यस्ता विचार र भावनाहरू मान्छेमा हुँदा रैछन्, जो अरू कसैसँग पोख्न र साट्न सकिँदो रहेन छ, आफुले आफैंसँग बाहेक । बरु मैले त्यस्ता अनगिन्ती विचार र भावनाहरू तमाखुका तिनै धुवाँ र तमाखुबाट आउने तिनै गुटुर गुटुर आवाजसँग मात्र साट्न सकें ।
विवाहपछि तमाखु नै त्यो त्यस्तो चिज बन्यो जो म र मेरी पत्नीको बिचमा सदैव कहिले एउटा पुल जस्तो बनेर बस्यो कहिले सन्तान जत्तिकै प्यारो बनेर बस्यो। उनी मेरो जीवनमा सामेल भएदेखि उनले मेरो लागि तमाखु तयार पर्ने जिम्मा यसरी लिइन कि मैले उनी हुन्जेल आफैं बनाएर खानु परेन। बिस्तारै तमाखुको लागि काँचो पातको खेती गर्ने, टिप्ने, सुर्ती बनाएर खुदोमा मोलेर पकाउने, वर्ष दिन भरको लागि सम्हालेर राख्ने अनि हरेक दिन बिहान बेलुका नियमित तयार पारेर दिने जिम्मा जस्तो सुकै अवस्था मा पनि उनले अटुट रुपमा पूरा गरिन् ।
कैयौं खस्रा परिस्थितिमा बुढाबुढीको सम्बादको पुल बनिदिन्थ्यो यही तमाखु ! ब्यस्त पारिवारिक झोज झमेलाबाट सरक्क पन्छेर एक निमेसका लागि किन नहोस् मसम्म खिंचिएर आइ पुग्थिन् उनी एउटा मुस्कान बोकेर ! बिस्तारै तमाखुको स्वाद नै उनको प्रेमको स्वादमा रुपारन्तरित हुँदै गयो, त्यो हुक्का तमाखु र उनी एक अर्काका परिपूरक भएर अनन्तसम्म रहे ।
एकदिन ख्याल ख्यालैमा मैले भनेको थिएँ, हेर तिमी नभए त मेरो तमाखुको पनि अनिकाल पर्छ, मलाई एक्लै पारेर तिमी नजानु है, म गएपछि मात्र जानू ।
मेरो मुख झटपट थुनेर उनले भनिथिन्, राम राम त्यस्तो नि कहाँ हुन्छ, हजुरलाई बरु यो तमाखु छ साथ दिने, म कहाँ एक्लै बाँच्न सक्छु र । हजुर म गएसी मात्र जानु होला है ।
हाँस्दै मैले भनेको थिएँ त्यो त सब लेखनीको कुरा हो नि सानू, म अगाडि भए नि तिमीले सहनै परिगो नि, म अगाडि गएँ भने तिमी पनि मेरो यादमा यो तमाखु खाने गर्नु नि !
उनले केही बोलिनन् तर उनका आँखामा सहमतिका आँसुहरू टिल्पिलाएका देखिन्थे ।
००००
उनी गम्भीर बिरामिले थलिएकी थिइन् त्यसताका । आँखा रसिलो हुने गरी उनले बोलेका ती अन्तिम वाणीहरू अझै पनि मेरा कानमा गुन्जिरहन्छन् ।
म गएपछि हजुरलाई कसले त्यो तमाखु बनाएर खुवाउला र खै ?
यति भनेर उनी भित्रैसम्म कटक्क भएकी थिइन्, सायद प्रश्नको कुनै जवाफ नभेटेर होला । यसरी यो त्यही तमाखु थियो, जो तमाखू मात्र रहेन उनको महायात्रा पछि मेरालागि । तमाखुको लामो सर्को जब मभित्रसम्म पुग्ने गरी तान्छु, उनको सास पनि भित्रैसम्म महसुस हुन्छ मलाई । उनी बितेर गएको यो झन्डै दशकसम्मको समय म उनलाई यसै तमाखुमा महसुस गरेर बाँचिरहेछु । उनको आभास हरेक पटक त्यो हुकका समाउँदा अनि त्यो तमाखु तान्दा जिउँदो भएर मेरो नसानसामा दगुर्ने गर्छन् । उनीलाई मैले मभित्र मर्न नदिएर त्यही तमाखुको सासले बचाइराखेको छु । यसकै कारण यो शेष जीवनलाई नेटोसम्म धकेल्ने एउटा आँट यसैले दिइरहन्छ ।
पुरुष अहंले लत्रक्क भिजेर मैले उमेरमा उनीप्रति गरेका अनेक अन्यायहरू र जानाजान बेवास्ता गरेका सानातिना अव्यक्त रहरहरूको पहिरोले थिचिँदै थिचिँदै जाँदा, पश्चात्तापले रापिँदै जाँदा, मैले माग्न खोजेको माफी र गर्न खोजेको प्रायश्चित्तको साक्षी यही तमाखु र हुक्का बाहेक अरू कोही हुन नसक्ने स्पस्ट भइरहेको छ मलाई ।
तर, अफसोच अनगिन्ती मेरा आफन्तहरूसँग यसको मूल्यांकन गर्ने हैसियत छैन । त्यस्तो हुँदो हो त जीवनबाट जीवन त्यागेर बाँच्नुपर्छ तैंले भनेर नभन्दा हुन आज । यसरी तमाखु मेरो जीवनको अभिन्न र प्रिय चिज बनेकाबेला एउटा ठूलो प्रहारको दुस्प्रयास भएको छ । यसको अभावमा म मेरी उनीलाई मभित्र जिउँदो राख्न पनि समर्थ हुने छैन र यही नै मेरो महायात्राको पूर्ण तयारी हुनेछ सायद !