Logo
Logo

‘खुवालुङ फुटाउन खोजे राज्यसँग मुठभेड हुन्छ’


प्रकाश चाम्लिङ

114.5k
Shares

काठमाडौं । किरातीहरुको आस्थासँग जोडिएको खुवालुङलाई राज्यपक्षले फुटाउन खोजेको भन्दै सरोकारवालाहरु संगठित भएका छन् ।

मुन्धुमलाई आफ्नो जीवन दर्शन मान्दै आएका किराती समुदायका लागि खुवालङ एक ऐतिहासिक थलो हो । तर राज्यपक्षले खुवालुङलाई ढुङ्गोको रुपमा मात्रै देखेको भन्दै उनीहरू संगठित भएका हुन् ।

केहि समयअघि एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जेटबोट चलाउन तगारो बनेको भन्दै सप्तकोशी माझमा रहेको खुवालुङ (ढुंगो) लाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएपछि किराँती समुदायमाझ यसबारे विरोध र बहसले चर्चा पाएको हो ।

यसबीच राजधानीमा बिहिबार एक घोषणा कार्यक्रम गर्दै कोशीमा मिसिने अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङ रक्षार्थका निम्ति खुवालुङ सरोकार समूह गठन भएको छ। खुवालुङ रक्षार्थ भन्दै गठन भएको खुवालुङ सरोकार समूहले ६ बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरेको छ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले कुनै पनि सरकारी निकायबाट फुटाउने योजना नबनेको र नफुटाइने प्रतिबद्दता दिएपनि औपचारिक रुपमा कुनै निर्णय नभएकाले खुवालुङ संरक्षण गर्न खुवालुङ सरोकार समूह गठन गरिएको लेखक तथा अभियनता राजन मुकारुङले बताए ।

राज्य एकातिर निश्चित धार्मिक आस्था राख्नेहरुको श्रद्धाको धरोहरमा सुनको जलहरी चढाउन तत्कालन बजेट छुट्याउँछन् तर अर्को निश्चित समुदायको आस्थाको केन्द्रमाथि भने क्रेन लगाउने उद्घोष गर्नु आफैमा विभेदकारी नीति रहेको गठित खुवालुङ सरोकार समूहद्धारा जारी अवधारधनापत्रमा उल्लेख छ । खुवालुङ सरोकार समूहले राज्यका यस्ता विभेदकारी नीतिको प्रतिरोध गर्ने प्रतिबद्धतासहित राज्यले सबैको संस्कृतिलाई समान व्यवहार गर्नुपर्ने उल्लेख गरेको छ ।

६ बुँदे अवधारणा पत्रमा खुवालुङसँग सम्बन्धित सबै खाले अभियान, गतिविधिमाथि आलोचनात्मक चासो राख्ने, तथ्यगत प्रचारप्रसारमा निगरानी गर्ने, खोज, अनुसन्धान तथा विकासका लागि पहल गर्ने, उपलब्ध दस्तावेजीकरण गर्ने, राज्यले गर्ने सांस्कृतिक अतिक्रमण विरुद्ध अन्य आन्दोलनरत पक्षहरुसँग सहकार्य गर्ने र खुवालुडंलाई साँस्कृतिक सम्पदाको रुपमा सूचिकृत गराउन आवश्यक प्राविधिक तथा कानुनी बाटो खोज्ने उल्लेख गरिएको छ ।

समूहको संयोजकमा राजन मुकारुङ रहेका छन् भने सदस्यहरूमा अभिनेता दयाहाङ समेत रहेका छन् । त्यस्तै सदस्यहरुमा उत्तम सुनुवार, इन्दिरा जिमी याक्खा, चन्द्रवीर तुम्बापो, धनु याक्खा, बच्चु हिमांशु, शोभा सुनुवार, सुनिता थेगिम छन् ।

त्यस्तै आर्थिक संयोजकमा बलिराज खम्बू, कानुनी सल्लाकारमा भीम राई, विदेश समन्वय प्रमुख अमित चाम्लिङ छन् भने सदस्य सचिवमा पत्रकार राजेश चाम्लिङ रहेका छन् ।

राज्यसँग मुठभेट हुने चेतावनी
अभिनेता दयाहाङ राईले किरातीहरुको आस्थाको प्रतिक खुवालुङलाई राज्यपक्षले ढुंगोको रुपमा देखेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

अभिनेता राईले घोषणा कार्यक्रममा बोल्दै किरातीहरुको आस्थाको प्रतिक खुवालुङलाई विकासको बाधक देख्नु वा ढुंगोको रुपमा मात्र हेर्नु नहुने बताएका छन् । उनले राज्य पक्षले आदिवासी÷जनजातिहरूले सदियौँदेखि मान्दै आएका मान्यता, दर्शनहरूलाई निमिट्यान्‍न बनाउने प्रयास भईरहेको समेत बताए ।

‘म किरात भित्रकै मान्छे हुँ । किरात सभ्यता, दर्शनलाई अंगाल्दै अघि बढेर यहाँ सम्म आइपुगेको हुँ,’ उनले भने, ‘मैले मान्‍ने खुवालुङ मेरो मात्रै होइन, यो देशको पनि हो । राज्य पक्षले आफू भन्दा इतरका मानिसहरूलाई केही पनि नदेख्‍ने, थाहै नपाई उनीहरूको संस्कृति, सम्पदा मास्‍ने वा निमोठ्ने प्रयास गरिरहेको छ ।’

अभिनेता राईले राज्यबाट भइरहेको दमनविरुद्ध आफूले आफ्नो ठाउँबाट बोलिरहेको बताउँदै भने, ‘आफ्नो ठाउँबाट बोलि नै रहेका छौं, सावधान भनी नै रहेका छौं,’ उनले भने, ‘सावधानीले मात्र पुगेन भने हामी खुवालुङ पक्षका आवाजहरुलाई समन्वय गरेर अगाडि लान्छौं ।’

‘विकासलाई एउटा आँखाले मात्र पनि हेर्न हुन्न,’ उनले भने, ‘खुवालुङले विकासलाई बाधा पुर्यायो भन्ने पनि लाग्ला । तर त्यसलाई त्यसरी मात्र हेर्न हुन्न, विकल्पहरु पनि खोजिनुपर्छ । त्यसले हाम्रो देशभित्रको अर्को सुन्दरतालाई अगाडि बढाउन सक्छ ।’

त्यस्तै, कार्यक्रममा वरिष्ठ साहित्यकार अभियन्ता राजन मुकारुङले राज्यले कसैका सम्पदालाई ढुंगा मात्रै ठानेर विकास निर्माणका लागि हटाउने खोजे प्रतिकार गर्ने बताएका छन् । उनले राज्यले कसैको घरलाई गोठ देखिदिने प्रवृत्ति रहेको भन्दै राज्यले गरिरहेको विभेदकारी नीतिको सबैले चर्को प्रतिकार गर्नुपर्ने बताए । खुवालुङबारे प्रदेश सरकारले संरक्षण गर्ने बताए पनि यसबारे संका रहेको बताए । उनले राज्य सांस्कृतिक दमनमा उत्रिएको भन्दै खुवालुङ संरक्षणका लागि होसियार हुनुपर्ने बताएका छन् ।

त्यस्तै, कानुनी सल्लाहकार भीम राईले खुवालुङ बचाउन चर्चापरिचर्चा गर्ने मात्रै नभई कानुनी उपचारमा समेत जानुपर्ने बताएका छन् । उनले सुरुमा सांस्कृतिक संवैधानिक हक संरक्षण गरिपाउँ भनी सर्वोच्चमा रिट हाल्न सकिने बताए । ‘पदको दुरुपयोग गरी प्रधानमन्त्रीले खुवालुङ फुटाउने, पशुपतिमा जलहरी चढाउने काम गरे भनेर अख्तियारमा दिन सकिन्छ,’ उनले भने ।

‘मैले खुवालुङको बारेमा अध्ययन गर्दा खुवालुङ त्यो क्षेत्रमा छ र त्यो आदिवासी किरातीको इतिहास, सभ्यता र संस्कृतिको धरोहर हो भन्‍ने कुरा दस्तावेजीकरण भएको पाइनँ ।,’ उनले भने । जबसम्म हाम्रो कुरा दस्ताबेजीकरण हुन्न, इन्जिनियरहरूले आफुखुसी परियोजना डिटेल रिपोर्ट पास गरिदिने उनको भनाई छ ।

दस्ताबेज भएमा कानुनी पाटोबाट जाँदा यिनै कुराहरूलाई सिरानी राखेर जानुपर्छ,’ उनले भने, ‘गैर आदिवासीले खुवालुङलाई ढुंगा देखेपनि, यो हाम्रो सभ्यता हो, संस्कृति हो । मानव अधिकारको दृष्टिकोणले सांस्कृतिक हकलाई संरक्षण गरी पाउँ भनी राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारको कार्यालयमा निवदेन दिन सक्छौँ ।’

त्यस्तै उत्तम सुनुवारले खुवालुङ सरकारले केबल ढुंगाको रुपमा मात्रै हेरेको भन्दै आक्रोस पोखे । कार्यक्रमा उनले खुवालुङलाई ढुंगाको रुपमा मात्र हेरेमा राज्यसँग मुडभेडको अवस्था उत्पन्न हुने समेत चेतावनी दिएका छन् । त्यस्तै चन्द्रबीर तुम्बापोले किरातीहरुको दर्शन मुन्धुम जेठो इतिहास रहेको बताए । उनी भन्छन्, ‘खुवालुङ मिथमात्रै होइन, इतिहास हो । र बाइबल, कुरान, त्रिपिटक, मुन्दुम भन्दा जेठो इतिहास हो,’ उनले प्रश्‍न गर्दै भने, ‘त्यसबाट किरात सभ्यताको सुरुवात भएको छ । त्यो ढुंगालाई स्थानान्तरण गर्दा वा फुटाउने वित्तिकै त्यसको इतिहास समाप्त हुन्छ, सौन्दर्य समाप्त हुन्छ । कुनै समुदायको इतिहास समाप्त हुनु भनेको सबै भन्दा बिडम्बना होइन रु यसमा वर्तमान सरकार किन सिरियस देखिँदैन ? ’

त्यस्तै मूर्तिकार धनु याख्खाले खुवालुङलाई फुटाउनुभन्दा आन्तरिक पर्यटकको केन्द्र बनाउनुपर्ने बताएका छन् । उनले भने, ‘समग्र समुदायको आस्थामाथि प्रहार गर्नुभन्दा उत्तम विकल्प त, खुवालुङलाई आन्तरिक पर्यटकीय गन्तव्य बनाउनुहुन्छ । राज्यले यतातिर ध्यान देओस् ।’

खुवालुङ

हाल खुवालुङ क्षेत्र संरक्षण समिति खुवालुङ रहेकै स्थान वरपर निरन्तर आन्दोलनका कार्यक्रमहरु भईरहेको छ । आदिवासी जनजाति साहित्यकार महासंघ, किरात राई विद्यार्थी संघ, बृहत् नागरिक आन्दोलन तथा सम्पदा संरक्षणकर्मी खुवालुङ क्षेत्रमा पुगेर विरोध कार्यक्रम समेत आयोजना गरिसकेका छन् ।

किराँत सभ्यता र मुन्धुमका मिथ जोडिएको उक्त खुवालुङ (ढुंगा) सुनसरीको बराह क्षेत्रबाट एक किलोमिटर माथि अरुण, तमोर र दूधकोशी नदी मिसिएको स्थानमा रहेको छ । करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ ।

यस्तो छ खुवालुङ सरोकार समितिले जारी गरेको अवधारणापत्र

 

 

 

प्रतिक्रिया दिनुहोस्