Logo
Logo

आजबाट देशभर होलीको विधिवत सुरुवात, यस्तो छ हाेलीकाे महत्व


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । रंगहरुको पर्व होली आज (आइतबार) बाट देशभर सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ः २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो ।

फाल्गुन महिनाको चन्द्रमास अन्तर्गत् पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइन्छ । वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको भएको जानकारी दिए ।

उनका अनुसार वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन रहेको छ ।

बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने चलन छ ।

नासलचोकमा भगवान् कृष्णले गोपिनीसँग लीला गरेको प्रतिमा राखेर कृष्णलीलाको स्मरण गरिने कर्मचार्यको भनाई छ । आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको कर्माचार्य बताउँछन् । करिब ३० फिट अग्लो उक्त चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने गर्छन् । रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिने चलन ।

देशभर सुरु
कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताए । “संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ”, नगरप्रमुख रावलले भने, “होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ । संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ ।”

होली देउडा अष्टमीदेखि शुरु गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने प्रमुख रावलले बताए । “रातिको समयमा होली देउडा खेल्न सुरक्षाका हिसाबले चुनौती छ”, उनले भने, “त्यसलाई व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।”

छलफलमा वडा नं १ का वडाध्यक्ष गङ्गाराम आचार्यले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताए । देउडाप्रेमीले होली देउडा खेल्ने समय दिउँसो बढाएर रातिको समय छोट्याउनुपर्ने सुझाव दिएका छन् । “विगतका वर्षमा रातिको समयमा खेलिने देउडा अब राति खेल्न सुरक्षा नभएकाले दिउँसोको समय बढाएर दिउँसो मात्र खेल्न जरुरी छ”, देउडा संरक्षणकर्मी देवानन्द रिमालले भने, “संस्कृति पनि संरक्षण होस्, समय पनि व्यवस्थापन हुने गरी चाडपर्व मनाउनुपर्छ ।”

टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र प्रदेश नं ५ का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन् । सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन् ।

होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ ।सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ ।

किन मनाइन्छ होली ? यस्तो छ महत्व
कला र संस्कृतिले भरिएको नेपालमा विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । फागु पुर्णिमाको रुपमा पनि लिने होली पर्व विशेषः त हिन्दु धर्म मान्नेहरु मनाउने गर्छन् । तर नेपालमा पछिल्लो सम प्रयाले होली पर्वलाई रमाइलो तरिकाले मनाउने गरेका छन् ।

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्