Logo
Logo

यौन दुर्व्यवहारको आरोपमा चिकित्सक पक्राउ


दृष्टि संवाददाता

1.5k
Shares

सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिए ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताए ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन । डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी थिइन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्