Logo
Logo

प्रहरीलाई काठमाडौं महानगरको तीन करोड


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, १५ फागुन ।
काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिसर काठमाडौं बीच सहरी सुव्यवस्थापनको लागि सिसिटिभि क्यामेरा प्रणाली जडान सम्बन्धी समझौतापत्र आदान प्रदान र रकम हस्तान्तरण कार्यक्रम बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ ।


सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्झौता अनुरुपको ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
साथै सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाको तर्फबाट सहसचिव डा.टोकराज पाण्डे र महानगरीय प्रहरी परिसरको तर्फबाट महानगरीय कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगर प्रविधिमैत्री हुनुपर्छ भन्ने सोच अनुरुप सहर सुरक्षित राख्न सिसिटिभीले महत्पूर्ण भूमिका खेल्ने भएकोले सम्झौता उत्कृष्ट र अनुकरणीय रहेको बताए । सिसिटिभीले अपराध नियन्त्रण, वैज्ञानिक प्रमाण संकलन, फोहोर व्यवस्थापन तथा अवैध कार्य नियन्त्रण कार्यमा ठूलो भूमिका खेल्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले काठमाडौं महानगरपालिकासँग सहकार्य गरी अग्रणी भूमिका निर्वाह गर्दै अघि बढ्न नेपाल प्रहरी तयार रहेको बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहकार्य र समन्वयमा कार्य गर्ने परम्पराको थालनी गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यस्ता सहकार्य अन्य महानगरपालिका तथा नगरपालिकासँग गर्न थप उर्जा प्राप्त भएकोले महानगरले प्रहरीलाई गरेको विश्वासलाई थप सशक्त बनाउने बताए ।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सहरलाई सुरक्षित र सुव्यवस्थित बनाउन नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाबीच सहकार्य र समन्वय अतिआवश्यक भएको चर्चा गर्दै यसलाई प्रभावकारी बनाउन सम्झौता गरिएको बताए । नेपाल प्रहरीले लागू गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रम अनुसार सम्झौता गरिएको चर्चा गर्दै यस कार्यक्रमले सहकार्य गर्न उत्प्रेरित गरेको उहाँले बताए । सिसिटिभीले समयमै सतर्कता अपनाई अपराध घटनै नदिने अवस्था बनाउन सकिने भएकोले महानगरबासीको सुरक्षा मजबुत बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । कार्यक्रममा मन्तव्य राख्दै काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जनता र शहरलाई सुरक्षित राख्न अपराधिक घटनालाई बाहिर निकाल्न तथा सूचना लिनका लागि सिसिटिभीले सहयोग पुग्ने चर्चा गरिन् ।
काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरु तथा प्रहरी अधिकृतहरु तथा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्