Logo
Logo

काठमाडौंमा मेलम्चीको पानी, ग्राहक खुसी भएपछि मात्र शुल्क बढाइने


दृष्टि संवाददाता

1k
Shares

तस्बिर- राेताेपाटी

काठमाडौं । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ ।

अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ । उनले भने, ‘विस्तारै सबै क्षेत्रमा पानी पठाइनेछ ।’ महाङ्कालचौर पोखरी खोलेर जम्मा भएको पानी घरघरमा पठाउन थालिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।

सो पोखरीबाट चावहिल, कुटुबहाल, आनन्द नगर क्षेत्रमा पानी पुग्ने उनको भनाइ रहेको छ । पानी बढाउँदै लगेर दैनिक १७ करोड लिटरसम्म काठमाडौँ ल्याउन लागिएको छ । सकेसम्म दैनिक रुपमा विवरण गर्ने लिमिटेडको योजना छ । उनले भने– ‘सकेसम्म दैनिक नभए दिन बिराएर पानी ग्राहकले पानी पाउनेछन् ।’

अहिले खानेपानीको शुल्क यथावत नै राख्ने लिमिटेडको योजना छ । पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुशी बनाएर मात्रै महसुल बढाउन सोच्ने उनले बताए । तोकिएका स्थानमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ । उनले भने– ‘सम्बन्धित शाखामा सम्पर्क गरेपछि समाधान हुनेछ ।’

निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो । यस अघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो । राष्ट्रिय गौरवको सो आयोजनाले काठमाडौँ उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ ।

आयोजनामा यसअघि विभिन्न कम्पनीले काम गरेका थिए । पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम सम्पन्न गरेको हो । सोही कम्पनीले ‘हेडवर्क’ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्