Logo
Logo

होली मेलामा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु, केही युवा घाइते


दृष्टि संवाददाता

1.1k
Shares


बागलुङ । बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको जनाइएको छ ।

वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको हो । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने खत्रीको भनाई छ ।

प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीका अनुसार मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको उनको भनाई छ ।

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको प्रहरीले बताए । आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए ।

स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीको भनाई । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र विस्तृत विवरण भने आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्