Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नयाँ सत्ता समीकरणमा अलमलदेखि माधव समूह समानान्तर कमिटी गठनमा व्यस्तसम्म


दृष्टि संवाददाता

630
Shares

हेडलाइन्स् :

१. नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसको अग्रसरतामा माओवादी र जसपाको बैठक, सरकार गठनका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै जसपाले माग्यो समय, सरकार बनाउने प्रस्ताव पहिलो पटक औपचारिक रूपमा आएकाले आफ्नो कारणले नयाँ सरकार गठन नलम्बिएको अध्यक्ष महन्थ ठाकुरको तर्क, आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जानकारी ।

२. एमालेमा प्रवेश गरेर मन्त्री बनेका चार माओवादी सांसदको पद खोसिएसँगै स्वतः मन्त्रीबाट हटेकालाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुर्नबहाली, राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण ।

३. नेकपा (माओवादी केन्द्र) द्वारा पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही, दल त्याग गरेको पत्र संसद सचिवालयलाई पठाइयो, वैशाख १ गते राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना स्वदेश फर्किएसँगै थापाको सांसद पद खारेज भएको सूचना संसद् सचिवालयले प्रकाशित गर्ने, राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई सोधियो २४ घण्टे स्पष्टीकरण ।

४. नेकपा एमालेका निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालद्वारा मोरङमा समानान्तर कमिटीको घोषणा, चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन, पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय विराटनगर महानगर कमिटी पनि गठन, पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरित कारबाही गरेको भन्दै आफूहरु पनि हातमा दही जमाएर नबस्ने नेपालको चेतावनी ।

५. नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ पुनः उकालो लाग्दै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह, प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै, १८ वर्षमुनिका व्यक्तिमा संक्रमण बढेको भन्दै विद्यालय ‘भर्चुअल’ माध्यमबाट सञ्चालन गर्न अनुरोध, संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय र साना सहरमा सय भन्दा बढी सक्रिय संक्रमित भए आवागमनमा कडाइ गर्न आग्रह, स्वास्थय मापदण्डमा कडाई गर्ने प्रस्ताव सीसीएमसीमा लगियो ।

६. कोभिड–१९ विरुद्ध मिलेर लड्ने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार टेलिफोन संवाद, भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन ज्ञवालीको भारत सरकारसँग आग्रह, जयशंकरले खोप आपूर्तिको माध्यमबाट महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख ।

७. अर्थ मन्त्रालयले थाल्यो आगामी आर्थिक वर्ष २०७८/०७९ मा निर्माण हुने बजेटका लागि अर्थविद्सँग परामर्श, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व अर्थ सचिव राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्ने, सुझाव संकलन गर्ने समय चैत २६ गतेदेखि बैशाख २५ गतेसम्म तोकियो, हालसम्म १७ मन्त्रालयसँग बजेटका लागि छलफल तथा बजेट सम्बन्धी सुझाव संकलन ।

८. सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाए, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट आइएमई ग्रुपका अध्यक्ष, उद्यमी तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मानित, चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोडेजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने , चेम्बर अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित, वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल, एक सातामा २५ सय रुपैयाँले बढ्यो सुन, चैतकै महंगो मूल्यमा बिक्री हुँदै ।

९. इण्डियन प्रिमियर लिग (आइपीएल) को चौधौँ संस्करण आजबाट सुरु, उद्घाटन खेलमा मुम्बई इण्डियन्स् र रोयल चैलेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा, सम्पूर्ण खेल कोरोना कारण वन्द रंगशालामा हुने, कुनैपनि टोलीले आफ्नो घरेलु मैदानमा खेल खेल्न पाउने, पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल शनिबार पोखरा रगंशालामा हुँदै, उपाधिका लागि संकटा व्याइज क्लब र पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन भिड्दै, एएफसी कप २०२१ अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लबले दोश्रो चरणमा जेएसडब्लु बैंग्लरु फुटवल क्लबको सामना गर्ने ।

१०.र, बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन, बकिङ्घम दरबारद्वारा मृत्यु भएको पुष्टि, भारतमा कोरोना संक्रमणको रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित, ब्राजिलमा कोरोनाका कारण एकैदिन ४२ सयको मृत्यु, कोरोनाको खोप लगाएका विदेशीहरुले अब कतारको क्वारेन्टाइनमा बस्न नपर्ने, गम्भीर र अप्ठ्यारो संकटको सामना गर्न उत्तर कोरियाली जनतालाई किमको आग्रह ।

प्रतिक्रिया दिनुहोस्