Logo
Logo

भक्तपुरमा बिस्केट जात्रा आजदेखि, रथ तानेर नै मनाइँदै


दृष्टि संवाददाता

1.1k
Shares

भक्तपुर । भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आज (शनिबार) देखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ । तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउन स्थानीयपालिकाले तयारी गरेको छ ।

आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुँदैछ। भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।

आज बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे नित्य पूजा सम्पन्न गरिएको छ । त्यस्तै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा गरेका छन् ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाइएको भैरव र भद्रकालीको रथ ३५ फिट अग्लो एवं तीन तले छ । यो रथमा करिब १० फिट अग्ला चारवटा काठेपाङ्ग्रा छन् ।

बिस्काः अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा यो जात्रा मनाउने गर्दछन् । जात्रामा भैरवको रथलाई टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजानका लागि तान्ने परम्परा छ ।

लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । जात्रा नयाँ वर्षको चार दिनपछिसम्म अर्थात् आठ रात नौ दिन मनाउने प्रचलन छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथको रथ तानेरै गरिन्छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गोे उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ ।

जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्