काठमाडौं । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता ठूलो परिमाणमा मासु खपत हुने स्थानहरू लामो समयसम्म बन्द हुँदा खपतको मात्रा घट्न गई नोक्सानी बढेको हो ।
करीब ६ महीना लामो बन्दाबन्दीका समयमा पोल्ट्री क्षेत्रले दैनिक २१ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेकाले क्षतिको मात्रा बढेको हो । त्यस बेला नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख रुपैयाँ, ब्रोइलर तयारी कुखुरामा १५ करोड रुपैयाँ, अण्डामा ३ करोड रुपैयाँ र पोल्ट्रीसम्बन्धी दानाको कच्चा पदार्थ आदिमा ५० लाख रुपैयाँको नोक्सानी हुँदै आएको थियो ।
यसरी वर्षभरिको सम्पूर्ण क्षतिको विवरण निकाल्दा करीब ३५ अर्ब रुपैयाँको हाराहारीमा क्षति भएको अनुमान गरिएको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।
उनका अनुसार ह्याचरी उद्योग संघले ६ महीना लामो बन्दाबन्दीमा दैनिक करीब ६ लाख चल्ला नष्ट गर्नुप¥यो । बन्दाबन्दीको अवधिभर यो क्रम चलिरह्यो । उक्त अवधिमा कुखुरापालक किसानले ४० लाख ओटा तयारी कुखुरा गाड्नु परेको थियो भने त्यत्तिकै मात्रामा अण्डा पनि कुहिएर खेर गएको थियो ।
सबैभन्दा बढी नोक्सानी बेहोर्नेमा ह्याचरी उद्योग रहेको छ भने त्यसपछि कुखुरापालक किसान र अण्डा उत्पादक किसानले बढी नोक्सानी बेहोरेका छन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।